बेलबारी / मोरङ नेत्रहीन सङ्घ र नेत्रहीन क्रिकेट सङ्घको आयोजनामा मोरङको बेलबारीमा दृष्टिविहीनहरुका लागि आइतबारबाट क्रिकेट प्रशिक्षण शुरु भएको छ ।
पाँच दिनसम्म चल्ने प्रशिक्षणको उद्घाटन बेलबारी खेलकुद विकास समितिका अध्यक्ष हेमन्त सुवेदीले गरेका थिए । प्रशिक्षणमा मोरङ, झापा र सुनसरीका दृष्टिविहीनहरुको सहभागिता छ । सहभागीमध्ये पाँचजना महिलालाई चैत्र २६ गतेदेखि हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता गराइने नेत्रहीन क्रिकेट सङ्घका अध्यक्ष पवन घिमिरेले बताए ।
उद्घाटन कार्यक्रममा नेत्रहीन सङ्घका केन्द्रीय अध्यक्ष, सुनसरीका अध्यक्ष इन्द्रकुमार लिम्बू, अपाङ्ग सङ्घका पूर्वाञ्चल अध्यक्ष राम कार्की, बेलबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष योगेन्द्र सुवेदी, नेकपा एमाले बेलबारीका अध्यक्ष योगेन्द्र गुरुङ, नेपाली काङ्ग्रेसका बेलबारी अध्यक्ष राजकुमार लिम्बू लगायतको उपस्थिति थियो । कार्यक्रम विमला तामाङको सञ्चालन र सङ्घका अध्यक्ष सावित्रा कोइरालाको अध्यक्षतामा भएको थियो ।