भोजपुर । भोजपुरमा ८० प्रतिशत सर्वसाधारणलाई हात्तीपाइलेको औषधि खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यही चैत ५, ६ र ७ गते भोजपुर जिल्लाभरका ८० प्रतिशत सर्वसाधारणलाई औषधि खुवाइएको हो । औषधि एकलाख ५० हजार चारसय ९५ जनालाई खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन विनोद मिश्रले जानकारी दिए । दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा औषधि खुवाउनका लागि दुई सय ३५ स्वास्थ्यकर्मी र एक हजार एकसय तीन महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए । भोजपुरमा कुल जनसङ्ख्याको सात प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ । रासस