विजयपुर। सुनसरीको दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोशी राजमार्ग हुँदै इटहरीबाट विराटनगरतर्फ एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले खोजी तथा निगरानी बढाएको थियो।
इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबीबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा ना.४ च ६०६३ नम्बरको एम्बुलेन्स जाँच तथा खानतलासी गर्दा ५७४ किलो ८७० ग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए ।
प्रहरीले गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एम्बुलेन्स छाडेर चालक फरार भएकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।






























