आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलको छनौटमा अर्जेन्टिनाले महत्वपूर्ण जित निकालेको छ । विश्वकप छनौट अन्तर्गत शुक्रबार बिहान भएको दक्षिण अमेरिकी महादेशको छनोटमा अर्जेन्टिनाले चिलीलाई १–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन एक मात्र निर्णायक गोल कप्तान लियोनल मेस्सीले गरे । प्रतिष्प्रधात्मक खेलमा मेस्सीले पहिलो हाफको १६ औं मिनेटमा गरेको पेनाल्टी गोल निर्णायक बन्यो ।

चिलीका डिफेन्डरले एन्जेल डि मारियालाई डि बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । जसमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । जितसँगै विश्वकप छनोटमा कठिन मोडमा रहेको अर्जेन्टिनालाई राहत मिलेको छ । र, अर्जेन्टिना छनोटको तेस्रो स्थानमा समेत उक्लिएको छ । अर्जेन्टिनाले १३ खेलबाट २२  अंक जोडेको छ । पराजित चिली २० अंक जोडेर छैटौ स्थानमा छ ।

रुसमा हुने विश्वकपमा दक्षिण अमेरिकी महादेशबाट शिर्ष ४ देश सिधै विश्वकपका लागि छनौट हुनेछन् भने पाँचौ स्थानकोले प्लेअफ खेल्न पाउने छ ।