काठमाडौँ/निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी थालेको छ ।

पछिल्लो समयमा मुलुकभरका निकुञ्ज वरपरका बस्तीमा हात्तीले आक्रमण गर्नुका साथै खेतीबाली नष्ट गर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अफ्रिकाबाट उक्त मूल्य बराबरको औषधि र औषधि प्रयोग गर्ने उपकरण ल्याउने प्रक्रिया अघि बढाएको हो ।

आगामी दुई महिनाभित्र औषधि र ती उपकरण नेपाल आइपुग्ने विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए । जङ्गली जनावर मात्तिएपछि नियन्त्रण गर्न लठ्याउने औषधि खर्चिलो छ । चितुवालाई लठ्याउने औषधि एकपटक प्रयोग गर्दा रु २५ हजार बराबरको खर्च हुने बताउँदै महानिर्देशक खड्काले भने – “हात्तीलाई त्यसभन्दा बढी परिमाणको औषधि खर्च हुन्छ ।” यसबाहेक निशाना गलत भएमा दोब्बर खर्च हुन्छ ।

मात्तिएका वन्यजन्तुलाई प्राविधिकले एक प्रकारको बन्दुकमार्फत उक्त औषधिको प्रयोगले नियन्त्रणमा लिने गर्छन् । प्राकृतिक वासस्थान र आहाराको अतिक्रमणपछि मुलुकभर वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गएको बताइन्छ ।