धनगढी/ कञ्चनपुरको पुनर्वास नगरपालिकामा भारतीय सुरक्षाकर्मीको गोली लागेर हालै साहदत हुनुभएका गोविन्द गौतमका परिवारलाई आज बर्दिया जिल्ला बढैया तालका समाजसेवी दामोदरप्रसाद अधिकारीले जग्गा प्रदान गर्नुभएको छ । काठमाडाँै चन्द्रागिरि–१४ घर भई हाल बर्दिया बढैयाताल–३ बस्ने अधिकारीले कञ्चनपुर पुनर्वास नगरपालिका–११ मा आफ्नो नाममा रहेको करिब रु आठ लाख मूल्यबराबरको १२ धुर जग्गा स्व गौतमकी पत्नी लक्ष्मीलाई उहाँकै घरमा पुगेर आज प्रदान गर्नुभएको हो । नेपाली सेनाका पूर्व सुवेदारसमेत रहनुभएका अधिकारीले आफूले पाउने एक महिनाको ‘पेन्सनबापत हुने रु १५ हजार समेत प्रदान गर्नुभयो । प्रदान गरिएको उक्त जग्गा कञ्चनपुरकोे बेलौरीस्थित मालपोत कार्यालयमार्फत संरक्षक लक्ष्मी, उहाँका छोरी आकृति, आँशु र आशिकाका नाममा पास गरी संयुक्त धनिपुर्जा समेत बनाइएको छ । जग्गा हस्तान्तरण गर्दै समाजसेवी अधिकारीले देशका लागि ज्यान आहुति दिएका गौतम परिवारलाई पूर्वसेनाको हैसियतले सहयोग गर्न पाउँदा आफू निकै गौरवान्वित भएको बताउनुभयो । सो घटनापछि आनन्द बजारदेखि पारी रहेको भारतको बसई बजारसम्मको आवागमन बन्द भई व्यापारिक कारोबार ठप्प रहेको छ । अप्रिय घटना हुन नदिन घटनास्थल नजिकैको नेपाली भूमिमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट स्थापना गरिएको छ । अधिकारीले गौतमसँगै भारतीय सुरक्षा अधिकारीको कुटपिटबाट घाइते भई उपचाररत रहेका पुनर्वासकै टीकाराम चापागार्इंका परिवारलाई पनि रु पाँच हजार प्रदान गर्नुभएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजार छेउको बाटोमा पुलेसा निर्माणको विषयमा विवाद झिक्दै भारतीय सुरक्षा अधिकारीले चलाएको गोली लागेर गत फागुन २६ गते गौतमको मृत्यु भएको थियो । कर्मचारीबाट समेत सहयोग सहिद गोविन्द गौतमको परिवारका नाममा जग्गा पास गर्न बेलौरी मालपोत कार्यालय पुगेका गौतम परिवार र जग्गादातासँग कार्यालयले निःशुल्क रुपमा जग्गा पास गरिदिएको छ । यसैगरी मालपोत कार्यालयका केही कर्मचारीले गौतम पत्नी लक्ष्मीलाई रु दुई हजार ९०० तथा लेखापढी व्यवसायी जनकराज जोशीले रु एक हजार ५० को सहयोग गर्नुभएको छ । रासस