विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा स्पेन विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको स्पेनले घरेलु मैदानमा भएको खेलमा इजरायललाई ४–१ ले हराएको हो ।
स्पेनको जितमा डेविड सिल्भा, माचिन पेरेज, डिएगो कोस्टा र इस्काले गोल गरे । इजरालका लिओर रेफाएलोभले एक गोल फर्काए । १३ औं मिनेटमा सिल्भाले गोल गर्दै स्पेनलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा पेरेजले गोल गरेपछि स्पेनले २–० को अग्रता लियो । ५१ औं मिनेटमा कोस्टाले गोल गर्दै अग्रता ३–० मा पुर्याए ।
७६ औं मिनेटमा इजरायलका रेफाएलोभले गोल फर्काएपछि खेल ३–१ को अवस्थामा पुग्यो । ८८ औं मिनेटमा इस्काले गोल गर्दै स्पेनलाई ४–१ को जित दिलाए । जितपछि ५ खेलबाट १३ अंक जोडेको स्पेन समूह ‘जी’ को शीर्ष स्थानमा छ ।