अर्घाखाँची। नेपालमा पहिलो पटक गाईमा परीक्षण गरिएको बाच्छी मात्र पाउने उन्नत विर्य प्रयोग सफल देखिएको छ। पशु उत्पादन निर्देशनालयको प्राविधिक सहयोगमा राष्ट्रिय दुग्ध विकास बोर्डले दूध उत्पादनका लागि अमेरिकाबाट उन्नत विर्य ल्याएको थियो। बोर्डले एउटा गाईमा प्रयोग गर्ने विर्य ३ हजार ५ सय रुपैयाँमा खरिद गरेर किसानलाई निःशुल्क वितरण गरिरहेको छ।
एक दिनमा २५ लिटर दूध दिने गाईले जन्माएको साँढेको विर्यलाई अमेरिकाबाट ल्याएर विभिन्न जिल्लामा वितरण गरिएको हो। विर्य वितरणले गाईको वंश सुधार र दूध उत्पादनमा ठूलो सफलता मिलेको वरिष्ठ पशु विकास अधिकृत डाक्टर लोकनाथ पौडेलले बताए। उनकाअनुसार प्राकृतिक गर्भाधानमा ५० प्रतिशत मात्र बाच्छी जन्मिने गरेकामा अहिले विर्यको प्रयोगपछि ९५ प्रतिशत गाईले बाच्छी मात्र जन्माउने गरेका छन्।
विर्य वितरणले नश्ल सुधार भएको र दूध उत्पादन बढेको दुग्ध विकास बोर्डले जनाएको छ। अर्घाखाँचीमा पनि बाच्छी मात्र जन्माउने विर्यको प्रयोग शुरु भएको छ। पहिलो चरणमा दुई सय गाईमा यसको प्रयोग हुने पौडेलले जानकारी दिए।