विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति भएका खेलमा पोर्चुगल विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘बी’ मा रहेको पोर्चुगलले घरेलु मैदानमा भएको खेलमा हंगेरीलाई ३–० ले हराएको हो ।
पोर्चुगलको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा एन्ड्रे सिल्भाले एक गोल गरे । ३२ औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुवाति अग्रता दिलाए । त्यसको चार मिनेटपछि कप्तान रोनाल्डोले व्यक्तिगत पहिलो गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० को अग्रता लिएको पोर्चुगलका लागि ६५ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० को जित दिलाए । रोनाल्डो ३० यार्ड परबाट फ्रि किक मार्फत सुन्दर गोल गरेका हुन् ।
रोनाल्डोले युरोपियन क्षेत्रको छनौटको लगातार चौथो खेलमा गोल गरेका हुन् । पोर्चुगलले समूह ‘बी’ पछिल्ला चार खेल जितेका छ र त्यसमा १७ गोल गरेको छ । गएको वर्ष भएको युरोपकको क्रममा हंगेरीसँगको खेलमा रोनाल्डोल दुई गोल नै गरेका थिए । उनको दुई गोलको सहयोगले पोर्चुगलले हंगेरीलाई ३–३ को बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनाएको थियो । विश्वकप छनौट अन्तर्गत पनि रोनाल्डोले हंगेरी विरुद्ध दुई गोल नै गरे ।
समूह ‘बी’ अन्तर्गतकै खेलमा स्वीट्जरल्याण्डले लात्भियालाई १–० ले हरयो । स्वीट्जरल्याण्डको जितमा ड्रमिकले ६६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितपछि समूहको शीर्ष स्थानको स्वीट्जरल्याण्डको पाँच खेलबाट १५ तथा दोस्रो स्थानको पोर्चुगलको १२ अंक भएको छ । अर्को खेलमा एन्डोरा र फारोइ आइल्याण्डले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।