विजयपुर/गत असोज १ गते सप्तकोशी नदीमा डुङ्गा दुर्घटना भएर मृत्यु भएका स्थानीयका आफन्तले ६ महिनापछि राहत रकम प्राप्त गरेका छन् ।
डुङ्गा दुर्घटनामा वराह नगरपालिका (साबिक महेन्द्रनगर गाविस र प्रकाशपुर गाविस) मा पर्ने श्रीलङ्का टापुका १० व्यक्तिको मृत्यु भएको थियो । मृतकका आफन्तले तत्कालै राहत पाउनु पर्ने भएपनि जिल्ला प्रशासन कार्यालय र तत्कालीन गाविस कार्यालयले बेवास्ता गरेका थिए । मृतकका आफन्तले राहत नपाएको र राहत माग्दा प्रशासनबाट बेवास्ता भएको विषयमा ब्लाष्टले पटक–पटक समाचार प्रकाशित गरेको थियो । ब्लाष्टमा समाचार प्रकाशित भएपछि मृतकको मृत्यु दर्ता र क्षतिपूर्ति प्राप्तिको प्रक्रिया शुरु भएको थियो । श्रीलङ्का टापुस्थित गरैयाका डुङ्गा पीडितले राहत रकम पाउने विश्वास गुमाएका थिए । स्थानीय स्वास्थ्य केन्द्रका प्रमुख राजेन्द्र थापाले भने, ‘पत्रिकाले समाचार प्रकाशन गरेपछि पीडितहरूले राहत पाएका छन् ।’ मृतकका परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले जनही एक लाखका दरले राहत रकम उपलब्ध गराएको हो । डुङ्गा दुर्घटनामा परी स्थानीय आँखै चन्द्रवंशीकी श्रीमती ३५ वर्षीया पार्वती चन्द्रवंशी, स्थानीय बोल्टा चन्द्रवंशीकी श्रीमती ३५ वर्षीया शकुन्तला चन्द्रवंशी र ११ वर्षीया छोरी अनिता चन्द्रवंशी, हरिबोल कविरतकी श्रीमती सीता कबिरत, डुङ्गाका ठेकेदार तुफान चन्द्रवंशीको मृत्यु भएको थियो । यसैगरी खुलबुल यादवकी श्रीमती कुञ्जन यादव, गोल्छा झाकी छोरी ७ वर्षीया रेखा झा, उनकै श्रीमती मीना झा र मीनाकी तीन वर्षीया छोरी पूजन झाको मृत्यु भएको थियो । राहत रकम पाएपछि स्थानीय बोल्टा चन्द्रवंशीले ढिलै भएपनि राहत रकम पाएको भन्दै रकमले छोरीलाई पढाउने बताए ।