काँकडभिट्टा/ झापाको बिर्तामोडस्थित तारा नमस्ते बालग्रामको भवन निर्माण गर्न सातदिने श्रीमद्भागवत महापुराण आयोजना गरिने भएको छ । बालग्राममा अहिले ११ जना अनाथ बालबालिका आश्रित छन् । व्यवस्थित भवन बनाएर उनीहरूलाई राख्न पुराण आयोजना गर्न लागिएको हो । पुराणबाट सङ्कलन हुने रकमले बालग्रामको दुई कठ्ठा जग्गामा पक्की भवन निर्माण गरिने बताइएको छ । बालग्रामलाई स्थानीय गुरुप्रसाद ओझाले एक कठ्ठा जग्गा दान गरेका थिए । बालग्रामले सोही ठाउँमा थप एक कठ्ठा जग्गा खरीद गरेको छ । साबिक बिर्तामोड–७ स्थित सो दुई कठ्ठा जग्गामा भवन निर्माण गर्न ३५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको बालग्रामका सञ्चालक नारायणप्रसाद पोखरेलले बताए । पुराणबाट १५ लाख रुपैयाँ सङ्कलन हुने अनुमान गरेका उनले बाँकी रकम दाताहरूबाट सङ्कलन गरिने बताए । भवन निर्माण कार्य आगामी फागुनमा शुरु गरिने बताइएको छ । पुराण आगामी वैशाख १ गतेदेखि बिर्तामोडस्थित कञ्चनजङ्घा बोर्डिङअगाडि आयोजना गरिने बताइएको छ । प्रमुख पुराण वाचकका रूपमा पण्डित घनश्याम ढकाल रहने छन् । चैत ३१ गते कलशयात्रा गरी पुराणको शुभारम्भ गरिने मूल आयोजक समितिका कृष्ण पौडेलले जानकारी दिए । पुराण सम्पन्न गर्न जग्गादाता गुरुप्रसाद ओझाको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । सल्लाहकार समिति १११ सदस्यीय छ । पुराणलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ । नारायणप्रसाद पोखरेलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, प्रेमाकुमारी भट्टराईको संयोजकत्वमा भोजन तथा प्रसाद वितरण उपसमिति, गुरुप्रसाद ओझाको संयोजकत्वमा आर्थिक उपसमिति, हरिप्रसाद तिम्सिनाको संयोजकत्वमा अतिथि व्यवस्थापन उपसमिति, हेमकुमार खड्काको संयोजकत्वमा पण्डाल व्यवस्थापन उपसमिति, यशोदा चापागाईंको संयोजकत्वमा कलश तथा भजन–कीर्तन उपसमिति र कमला पाठकको संयोजकत्वमा स्वागत उपसमिति निर्माण गरिएको प्रचारप्रसार उपसमितिका लक्ष्मी काप्mलेले जानकारी दिए ।