शनिश्चरे/ मोरङको पथरीशनिश्चरे १० स्थित रमणियस्थलका रुपमा रहेको जिरिखिम्तीलाई धार्मिक पर्यटनका हिसावले समेत चिनाउन भोलीदेखि श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
धार्मिक पर्यटनको प्रवद्र्धनका लागि अधुरो रहेको सिंहदेवी दुर्गा मन्दिर पुरा गर्न, धार्मिक भवन निर्माण र परिसर घेरावाराको सहयोग जुटाउन चैत १५ देखि २३ गतेसम्म महायज्ञ हुने मुल आयोजक समितिले सोमबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
३ कठ्ठा क्षेत्रफलमा रहेको सिंहदेवी दुर्गा मन्दिर परिसरमा रहेका रुखहरुका कलात्मक आकृति धार्मिक पर्यटनका लागि महत्वका रहेको महायज्ञ मुल आयोजक समिति संयोजक पुण्यप्रसाद सुवेदीले जनाए ।
कार्यक्रममा, महायज्ञ प्रचार प्रसार समिति संयोजक दीपेन्द्र तिम्सिनाले प्रेस विज्ञप्ति प्रस्तुत गर्दै प्राकृतिक रुपमा सम्पन्न र विकासका हिसाबले पछाडी परेको जिरिखिम्तीको विकासका लागि समेत उत्साही एवम् सहयोगी भावना अभिवृद्धि गर्न महायज्ञले मद्धत पुर्याउने उल्लेख गरे । महायज्ञबाट २० लाख रुपैयाँ बराबरको दान संकलन हुने अपेक्षा राखिएको छ ।