धरान/ भारतले ग्यास बोक्ने अनुमति नदिँदा ४५० वटा बुलेट सीमापारी नै रोकिएका छन् । तयार भएका बुलेट तिनै फेब्रीकेट कम्पनीमै थन्किएर बसेका छन् ।
भारतले यही प्रक्रिया रोक्दा नेपालमा भित्रिसकेका नेपाली बुलेट पनि भारतमा ग्यास लिन जान पाएका छैनन्। भारतले नेपाली उद्योगीले आफ्नै स्वामित्वमा रहने गरी भित्र्याएका बुलेटलाई बिष्फोटको खतराबाट मुक्त रहेको प्रमाणित नगरिदिँदा नेपाली बुलेट ग्यास लिन जान नपाएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।
नेपाल आयल निगमले एकैपटक भारतीय ग्यास बुलेट विस्थापित गर्ने निर्णय गरेपछि त्यसैको प्रतिक्रिया स्वरुप भारतले नेपाली बुलेटलाई बिष्फोटको खतरामुक्त रहेको ‘एक्स्प्लोसिभ’ सर्टिफिकेशन नगरेको हो । यस्तो प्रमाणित नभएसम्म भारतीय आयल कर्पोरेशनले ग्यास बुलेट र ट्यांकरमा तेल तथा ग्यास भर्दैन ।
भारतको पेट्रोलियम तथा एक्स्प्लोसिभ सेफ्टी अर्गनाइजेशनले यस्तो अनुमतिपत्र जारी नगरेसम्म नेपाली बुलेट भारतमा ग्यास लिन जानै पाउँदैनन् ।
आयल निगमले झण्डै ४ महिनाअघि नै नेपाली नम्बर प्लेटको बुलेटलाई यस्तो अनुमति दिन आग्रह गर्दै पत्राचार गरेको थियो । तर, भारतकै बनेर आएका नेपाली बुलेटलाई अझै भारत सरकारले ‘एक्स्प्लासिभ’ प्रमाणित गरेको छैन ।
यसका कारण भारतीय बुलेट विस्थापनका लागि सरकारले गरेको घोषणा तत्काल कार्यान्वयन हुने स्थिति छैन । भारतीय बुलेटका ट्रान्सर्पोटरहरुले आफ्नो सरकारलाई नेपाली बुलेटलाई एकैपटक यस्तो अनुमति नदिन दबाव दिएको ग्यास उद्योगीहरु बताउँछन् ।
भारतीय ट्रान्सर्पोटरहरुले आफ्नो बुलेट अन्तै प्रयोग गर्ने ब्यवस्था नभएसम्म नेपाली नम्बर प्लेटका बुलेटलाई पनि अनुमति नदिन दबाव दिएको सूचना आयल निगमलाई पनि छ ।
भारतबाट ग्यास बोक्न ७ सय ७५ वटा ग्यास बुलेट उद्योगीले भारतमै बनाउँदैछन् । यसमध्ये ४५० बुलेट बनेर तयार भइसकेका छन् ।
मंसिर १७ गते नै वीरगन्ज नाकामा दुईवटा नेपाली ग्यास बुलेट आइपुगेका थिए । तर, ती बुलेटले पनि भारत सरकारबाट खतरामुक्त भएको प्रमाणित गरेका छैनन् । समयमै ‘एक्स्प्लोसिभ’ प्रमाणित नगरे बुलेट प्रयोग अनिश्चित भएको छ ।
आयल निगमका अधिकारी भने बुलेटको फेब्रिकेशनकै समयमा सम्बन्धित कम्पनीसँग यस्तो प्रमाणित गर्ने जिम्मा उनीहरुकै हुने गरी ग्यास उद्योगीले सम्झौता नगर्दा समस्या आएको बताउँछन् ।
एउटा बुलेटलाई उद्योगीले करिब ७० लाख रुपैयाँ लगानी गरेका छन् । अहिलेसम्म नेपालमा भारतीय बुलेटहरुबाटै ग्यास आयात भइरहेको छ । नेपाली बुलेट भित्रिन सुरु भएपछि २०१७ को नोभेम्बरसम्म सबै आयातमा भारतीय बुलेटको प्रयोग हट्ने विश्वास गरिएको थियो ।
ग्यास आपूर्तिमा भारतीय बुलेटको एकाधिकार समाप्त गर्न भन्दै ५४ उद्योगले ७ सय ७५ बुलेट खरिदका लागि झण्डै साढे ५ खर्ब खर्चिएका छन् ।