इलाम/ इलामको जोगमाई गाउँपालिकास्थित निर्माण गरिएको जोगमाई खोला हाइड्रो परियोजनाले विद्युतको परीक्षण उत्पादन सुरु गरेको छ।

सात दशमलव छ मेगावाट क्षमताको सो परियोजनाले बिहीबारदेखि आफ्नो परीक्षण उत्पादन सुरु गरेको हो। ‘निर्माण सम्पन्न गरेर सबै काम सकिएकाले परीक्षण उत्पादन सुरु गरेका छौ, अर्को सातादेखि विद्युतको व्यावसायिक उत्पादन थालिने छ,’ जोगमाई खोला हाइड्रो परियोजनाका नियन्त्रक हरिबाबु न्यौपानेले भने।

परीक्षण उत्पादनका क्रममा यस आयोजनाले दुई दशमलव दुई मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जनाएको छ। नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार चैत मसान्तभित्रमा आयोजना पूरा गर्नुपर्ने थियो। दुई सय ७० पोलमार्फत ११ किलोमिटर दूरीको १३२ केभिए क्षमताको प्रसारण लाइनको परीक्षण सकिएपछि चाँडै नियमित विद्युत् उत्पादन गरिने नियन्त्रक न्यौपाने बताउँछन्।

साविकको नयाँबजार र नामसालिङ गाविसमा विद्युत् संरचना निर्माण गरिएको छ। विद्युत् आयोजनाका लागि एक हजार ५०० मिटर सुरुङ निर्माण गरिएको छ भने एक हजार ८३५ मिटरको पेनस्टक पाइप विछ्याइएको छ।

उक्त आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा प्रभु, कैलाश र विभोर विकास बैंकले रु डेढ अर्ब लगानी गरेका छन्।