धरान/तेह्र वर्षीया अनुषा राई शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका धरान–१६ पुन्यमार्गका बलिमान र पदमकुमारी राई दम्पतीलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ ।
जिल्ला अदालत सुनसरीका ३ नम्बर बेन्चका न्यायधिस युवराज गौतमले राई दम्पतीद्वयलाई नै पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । यो आदेशसँगै उनका बाबु जितबहादुर राईले राहत महसुस गरेका छन् । ‘अदालतबाट आज पुर्पक्षको लागि थुनामा राख्ने आदेश सुनाएको छ ।’ महिला सञ्जालकी नगर अध्यक्ष शीला बज्राचार्यले फोनमा भनिन्, ‘३ नम्बर बेन्चका न्यायधिस युवराज गौतमले फैसला सुनाउनुभएको हो ।’
फागुन १७ गते विषादी सेवनबाट मृत्यु भएको भन्दै उनलाई आफन्तलाई जानकारी नदिई नै राई दम्पतीले सदगद् गर्ने तयारी थालेका थिए । उक्त कुरा स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । तर, प्रहरीले यस घटनालाई गम्भीर रुपमा नलिएको बालअधिकारकर्मी तथा महिला अधिकारकर्मीहरुले बताउदै आइरहेका थिए । यस घटनामा बालअधिकारकर्मीहरु र बुबा जितबहादुरले अलग्गै उजुरी दिएका थिए ।
घटना फागुन १६ गते नै घटे पनि उक्त विषयमा राई दम्पतीले कसैलाई पनि जानकारी गराएका थिएनन् । अनुषाको पोष्टमार्टमको प्रारम्भिक अनुसन्धानमा पनि उनले बारम्बार आफैले आफैलाई मार्ने प्रयास गरेको देखिएको थियो भने उनको भेजाइनाको बनावट र प्रकृतिमा केही परिवर्तन भएको फेला परेको थियो ।
चिकित्सकहरुले पनि उनीमाथि मानसिक दवाव रहेको कुरा बताएका थिए । र, मृत्यु भएकै समयमा यौनहिंसा नभए पनि अन्य बेलामा हुने गरेको केही छनक दिएका थिए । तर, भिषरा र भेजाइनल स्वाबको रिपोर्ट नआएकाले उक्त कुराको पुष्टी हुने आधार फेला परेको थिएन् ।
अनुषा कक्षा ३ मा सियोन स्कुलमा अध्ययरत थिइन् । उनको बुबाले उनलाई दुईपटक भेट्न आउदा एकपटक मात्रै भेट गर्न दिएका थिए । प्रहरीले मुचुल्का उठाउने क्रममा स्वयम सहभागी बनेकी महिला अधिकारकर्मी शिव बान्तावा राईले उनीमाथि यौनहिंसासमेत हुने गरेका आफूहरुले केही प्रमाणहरु फेला पारेको दाबी गरेका थिए । अव अन्तिम फैसला नभइञ्जेलसम्म उनीहरुलाई पुर्पक्षमै राखिने छ ।
बलिमानलाई क्षेत्रीय कारागार झुम्का पठाइएको छ भने पदमकुमारीलाई विराटनगरस्थित महिला कारागार पठाइएको जनाइएको छ । राई दम्पतीले किशोरी अनुषालाई ५ वर्षको उमेरमा धर्मपुत्री पाल्ने भन्दै सामान्य कागजात गरेर लगेका थिए ।