काठमाडौं / निर्वाचन आयोगले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीसँग स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत हेलिकोप्टर चढेको र शहीदलाई राहत बाँड्न हिँडेको भन्दै उजुरी परेपछि आयोगले निधीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । गृहमन्त्री निधीलाई पत्र पठाएर स्पष्टीकरण सोधिएको आयुक्त नरेन्द्र दाहालले जनाएका छन् । ‘दलहरुले शहीद परिवारलाई रकम दिँदा आचारसंहिता लाग्दैन, तर मन्त्रीले पाउँदैनन्,’ निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा मङ्गलबार निर्वाचन आयोग पुगेको गृहमन्त्री निधिविरुद्ध उजुरी गरेका थिए । एमालेले आचारसंहिता विपरीत कर्मचारी सरुवा, मन्त्रीहरुको हेलिकोप्टर दौडाहा र बजेट रकमान्तर गरेको भन्दै सरकारविरुद्ध पनि उजुरी दिएको छ । एमालेको संसदीय दलका उपनेता नेम्वाङ, प्रमुख सचेतक भानुभक्त ढकाल लगायतको टोलीले मङ्गलबार निर्वाचन आयोगमा सरकारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी दर्ता गरेको थियो । उजुरीमा आचारसंहिता लागू भइसकेको अवस्थामा मन्त्रीहरु विभिन्न कार्यक्रममा हेलिकोप्टर चढेर जाने, साथै योजनाभन्दा बाहिरका कार्यक्रममा पैसा वितरण गर्ने गरेको आरोप लगाइएको छ । कञ्चनपुरको पुनर्वासमा गृहमन्त्री विमलेन्द्र निधीले पार्टीको तर्पmबाट शहीद गोविन्द गौतमको परिवारलाई पैसा दिएको साथै पार्टीगत कार्यक्रममा सहभागी हुँदा आचारसंहिता उल्लङ्घन भएको भन्दै उजुरी दर्ता गरेको नेता नेम्वाङले जानकारी दिए । यस्तै, म्यादी प्रहरी भर्नाका लागि पनि पारदर्शी मापदण्ड नबनाइएको दाबी गर्दै आयोगको ध्यानाकर्षण गराएको उनले जानकारी दिए । निर्वाचन आयोगले उजुरीमाथि छानविन गर्ने जनाएको छ । निर्वाचन आचारसंहिता अनुसार राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ ।