विश्वकप २०१८ को छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले प्रभावशाली जित दर्ता गरेको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत घरेलु मैदानमा भएको खेलमा ब्राजिलले पाराग्वेलाई ३–० ले हराएको हो ।

ब्राजिलको जितमा फिलिप कोन्टिन्हो, नेइमार र मार्सेलोले गोल गरे । ३४ औं मिनेटमा कोन्टिन्होले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा १–० को अग्रता लियो । दोस्रो हाफमा ब्राजिलले थप दुई गोल ग¥यो ।

६४ औं मिनेटमा नेइमाले ब्राजिलको अग्रता दोब्बर पारे । ८५ औं मिनेटमा मार्सेलोले गोल गरेपछि ब्राजिल ३–० ले विजयी भयो । जितपछि शीर्ष स्थानको ब्राजिलको १४ खेलबाट ३३ अंक भएको छ । ब्राजिलले विश्वकप २०१८ को छनौट अन्तर्गत अहिलेसम्म भएका १४ खेलमा १० खेल जितेको छ । तीन खेलमा बराबरी गरेको ब्राजिल एक खेलमा मात्रै पराजित भएको छ ।

यसअघि भएका खेलमा चिलीले भेनेजुएलालाई ३–१ तथा कोलम्बियाले इक्वेडरलाई २–० ले हरायो । लियोनल मेस्सी बिना खेलेको अर्जेन्टिना भने बोलिभियासँग २–० ले पराजित भयो ।