काठमाडौं / सन् २०१८ मा हुने विश्वकप फुटबलको दक्षिण एशियाली छनौट अन्तर्गत बोलिभियाबिरुद्धको खेलमा अर्जेन्टिनाले २-० को पराजय ब्यहोरेको छ ।
सुपरस्टार स्ट्राइकर लिओनल मेस्सी फिफाद्वारा चार खेलको प्रतिबन्धमा परेगलत्तै भएको खेलमा बोलिभियाले घरेलु मैदानमा शानदार प्रदर्शन गर्दै कोपा अमेरिकाको उपबिजेता अर्जेन्टिनालाई पराजित गर्न सफल भयो ।
बोलिभियाका लागि जुहान कार्लोस अर्सले ३२औं मिनेटमा गोलको खाता खोलेका थिए । ५२औं मिनेटमा मार्सेलो मार्टिन्सले अग्रता दोब्बर बनाउँदा अर्जेन्टिनाले खेलमा गोल गर्न सकेन ।
गत साता भएको चिलीबिरुद्धको खेलमा लाइन्सम्यानबिरुघ अभद्र व्यवहार गरेको आरोप प्रमाणित गर्दै फिफाले लिओनल मेस्सीलाई बोलिभियासँगको खेल सुरु हुनु केहि समयअघिमात्र ४ खेलको प्रतिबन्ध लगाएको थियो ।
हारसँगै अर्जेन्टिना विश्वकप दक्षिण अमेरिकी छनौटको पाचौं स्थानमा झरेको छ । अर्जेन्टिनाको २२ अंक छ ।
ब्राजिललाई शीर्ष स्थानमा ९ अंकको अग्रता
आजै भएको खेलमा पाराग्वेलाई ३-० ले हराउँदै ब्राजिलले छनौट तालिकाको शीर्ष स्थान ९ अंकको अग्रता बनाएको छ । घरेलु मैदानमा पाराग्वेबिरुद्ध फिलिप कोउटिन्हो, नेइमार र मार्सेलोले ब्राजिलका लागि गोल गरेका थिए ।
कोलम्बिया दोस्रो स्थानमा उक्लियो
अर्को खेलमा कोलम्बियाले १० खेलाडीमा सीमित इक्वेडरलाई २-० ले हराउँदै छनौट अंकतालिकाको दोस्रो स्थानमा उक्लियो । तालिकामा कोलम्बियाको २४अंक भएको छ ।
उसका लागि जेम्स रोड्रिगुइज र जुहान कोउड्राडोले गोल गरेका थिए । ६१औं मिनेटमा डिफेण्डर साइसेडो दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिएपछि इक्वेडर १० खेलाडीमा समेटिएको थियो ।
अंकतालिकाको चौथो स्थानमा उक्लने क्रममा चिलीले भेनेजुयलालाई ३-१ ले पराजित गरेको छ । चिलीको जितमा स्टेबान पारेडेजले २ तथा एलेक्सिस सान्चेसले १ गोल गरे । भेनेजुयलाका लागि सेलोमन रोण्डोनले एक गोल फर्काए । जितसँगै चिलीले २१ अंक जोडेको छ ।