चितवन/ जिल्लाका सामुदायिक विद्यालयका प्राथामिक तहमा अध्ययन गर्ने धेरै विद्यार्थी भर्ना भएर बीचमानै विद्यालय छाड्ने गरेको पाइएको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार चालु शैक्षिक सत्रमा जिल्लामा पाँच हजार ३३६ विद्यार्थीले बीचैमा विद्यालय छाडेका हुन् । जसमध्ये प्रावि तहका मात्रै ३ हजार १४५ छन् । जुन कुल विद्यार्थीको ९ प्रतिशत हुन आउदछ ।
त्यसैगरी निमावि तहका एक हजार २२३ अर्थात ५ प्रतिशत र मावि तहमा ९९६ जनाले विद्यालयमा भर्ना भई बीचमै पढाइ छाडेको उक्त कार्यालयले जनाएको छ ।
सामुदायिक विद्यालयमा प्रावि तहमा ३४ हजार ९५१, निमावि तहमा २४ हजार ५२५ र मावि तहमा १६ हजार ६०५ जना विद्यार्थी भर्ना भएका थिए ।
एउटा विद्यालयमा भर्ना भएर अर्को विद्यालयमा गएको भन्ने विद्यार्थीको व्यक्तिगत विवरण आउन नसक्दा विद्यालय भर्ना भई छाड्नेको सङ्ख्यामा वृद्धि भएको देखिएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार यो सङ्ख्या घटाउनका लागि कार्यालयले अभिभावक अन्तक्र्रिया कार्यक्रम गर्न लागेको छ । यसरी विद्यालय छाड्नेमा पहाडी क्षेत्रका विद्यार्थी र दलित जनजाति रहेको उनले बताए । निमावि तह अध्ययन गर्दा गर्दै वैवाहिक सम्बन्ध कायम हुनु र पहाडी क्षेत्रमा रहेको गरिबीका कारण यस्तो समस्या आएको हुनसक्ने उनले बताए ।
यस्तै संस्थागत विद्यालयतर्फ भने विद्यालय छाड्नेको सङ्ख्या न्यून रहेको सो कार्यालयको तथ्याङ्कले देखाएको छ । जस्मा संस्थागत विद्यालयतर्फ प्रावि तहमा ३४ हजार ६६१, निमावि तहमा १८ हजार ४७१ र मावि तहमा १० हजार २२६ विद्यार्थी छन् । संस्थागत विद्यालयमा भने एक प्रतिशतमा मात्र यस्तो समस्या आउने कार्यालयले जनाएको छ ।
अभिभावक र विद्यार्थी सबैले पढाइ राम्रो हुने भन्दै संस्थागतलाई रोज्ने गर्दा शैक्षिक सत्र २०७२–७३ को तुलनामा अघिल्ला शैक्षिक वर्ष हरेक तहमा एक हजारका दरले विद्यार्थी वृद्धि भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । -रासस