विराटनगर / स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा विराटनगरमा बिस्तारै चुनावी सरगर्मी शुरु भएको छ । अहिलेसम्म आन्तरिक तयारीमा जुटेका राजनीतिका दलहरु निर्वाचनका लागि उम्मेदवारहरुको सूची बनाउँदै चुनावको वातावरण बनाइरहेका छन् । निर्वाचनको मिति नजिक आएसँगै नगरका गाउँटोलमा उम्मेदवारबारे चर्चा–परिचर्चा हुन थालेका छन् । अहिलेसम्म नेकपा माओवादी केन्द्रले मात्र विराटनगर उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाएको छ । उसले मेयरका लागि भोगेन्द्र यादवलाई अघि सारेको छ भने उपमेयरका लागि नमिता न्यौपानेलाई मैदानमा उतारेको छ । पार्टीबाट सर्वसम्मतरुपमा उम्मेदवारी पाएकै कारण २० दिन अघिदेखि नै उनीहरु आप्mनो प्रचार तथा तयारीमा जुटिसकेका छन् । सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेस र दोस्रो दल नेकपा एमालेले नगरमा कसलाई अघि सार्ने भन्ने विषय टुङ्ग्याइसकेका छैनन् । मेयरका लागि नेपाली काङ्ग्रेसको तर्पmबाट भीम पराजुलीको नाम पनि युवा पंक्तिमा आएको छ । त्यसपछि काङ्ग्रेस मोरङका सचिव नागेश कोइरालाको नामले आन्तरिक प्रतिस्पर्धामा स्थान पाएको छ । नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष डिला सङ्ग्रौलालाई पनि मेयरमा अघि सार्ने कसरत चलिरहेको बताइएको छ । उपमेयरका लागि फुलकुमार लालवानी, सुनिता घिमिरे, प्रमिला थापाले आफ्नो दाबी अघि बढाएका छन् । नेकपा एमालेका विद्यार्थी पृष्ठभूमिका युवा नेता सागर थापाले आन्तरिकरुपमा मेयरमा उम्मेदवारीका लागि दबाव बढाएका छन् । अघिल्ला पुस्ताका नेताहरुले लालबाबु पण्डित, महेश रेग्मी र बाबुराम कार्कीको विषयमा छलफल चलाइरहेका छन् । युवा पंक्तिमा थापाप्रति आकर्षण देखिन्छ भने अन्य कार्यकर्ताहरुमा निर्वाचनमा टेष्ट नभएका युवा उम्मेदवारको खोजी भइरहेको देखिन्छ । लालबाबु पण्डित अत्यन्त हाइ प्रोफाइल भएको व्यक्तित्व र महेश रेग्मी संविधानसभा निर्वाचनमा टेस्टेड भएको र पछिल्लो समयमा आन्तरिक पार्टीभित्रको निर्वाचनमा पनि टेष्ट भइसकेको हुँदा अन्तिम समयमा बाबुराम कार्की र थापामध्येमा उम्मेदवारी जाने सम्भावना देखिएको बताइन्छ । उपमेयर पदमा एमालेले मीना यादवलाई अघि सार्ने सम्भावना बलियो देखिएको छ । त्यसबाहेक शीला कार्की, शिल्पा कार्की, विमला घिमिरे लगायतको नाम चर्चामा आएको छ । निर्वाचनमा भाग नलिने भनेर आन्दोलन गरिरहेको मधेशी मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरमले पनि आन्तरिक रुपमा निर्वाचनको तयारी गरिरहेको बुझिएको छ । फोरमभित्र पूर्व सभासद् जयराम यादव र पूर्व उपमेयर भूराज राईले मेयर पदमा आप्mनो दाबी अघि बढाएका छन् । बाहिर कुनै छलफल छैन भन्ने गरेको भएपनि आन्तरिकरुपमा तयारी शुरु गरिरहेको बताइन्छ । यसैगरी नयाँशक्ति पार्टीको तर्फबाट भरत दाहालले उम्मेदवारी दिने भएका छन् । उनका अतिरिक्त तेजलाल कर्ण, पशुपति नेपाल लगायतले मेयर पदमा दाबी गरिरहेका छन् । राजनीतिक दलहरुले आफ्नो तयारी थालिरहेको अवस्थामा निर्वाचन आयोगले जिल्लामा निर्वाचनको तयारीलाई तिब्र बनाएको छ । मोरङका तीन सय एक मतदान स्थल टुङ्गो लागेको छ भने छिट्टै मतदान केन्द्रको सङ्ख्या आयोगले टुङ्ग्याउने जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख भक्तबहादुर भट्टराईले जानकारी दिए । मोरङको विराटनगर उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुको लागि निर्वाचन हुने छ । जिल्लामा १७ मेयर, १७ उपमेयर, १ सय ५९ वडा अध्यक्षसहित ८ सय २९ जना निर्वाचित हुनेछन् । जिल्ला निर्वाचन कार्यालयले केही दिनभित्रै मतदाता शिक्षा सम्बन्धी तालीम लिएका स्वयम्सेवकहरुलाई प्रत्येक मतदान केन्द्रमा परिचालन गर्ने तयारी गरेको छ । मतदाता परिचयपत्रसहित मतदाता शिक्षा कार्यक्रम लैजाने तयारी गरेको भट्टराईले बताए । मोरङमा ३५ दल दर्ता भएका छन् भने राप्रपा नेपालले दल दर्ता गराएको छैन । यद्यपि निर्वाचन आयोगमै दर्ता गराएकोले त्यसको परिपत्र आउन सक्ने बताइएको छ । निर्वाचन तयारीकै क्रममा मतपत्र छपाइको काम सम्पन्न भइसकेको बताइएको छ । विभिन्न छ प्रकारको मतपत्रमध्ये सबैभन्दा लामो मतपत्र मोरङमा पनि प्रयोग हुनेछ ।