रसुवा/ रसुवागढी नाकाबाट व्यापार गर्ने जिल्लाबाहिरका व्यापारी तथा गाडी चालकलाई उपलव्ध गराउन लागिएको ‘मल्टी भिसा’ तत्काल उपलव्ध नहुने भएको छ ।

वाणिज्य मन्त्रालयका अनुसार जिल्ला बाहिरका नागरिकलाई चीन प्रवेशका लागि चीन सरकारले दिन लागेको मल्टी भिसाको नेतृत्व लिनका लागि नीजि क्षेत्रलाई आग्रह गरिएको भएपनि नीजि क्षेत्रले चासो नदेखाएका कारण समस्या आएको हो । रसुवाको सदरमुकाम धुन्चेमा वाणिज्य मन्त्रालयले आयोजना गरेको नेपाल चीन व्यापार तथा पारवाहन सम्वन्धी कार्यक्रममा मल्टी भिसा उपलव्ध गराउनका लागि अझै केही समय लाग्ने वताइएको हो । चीनसँगको व्यापारमा सहजीकरणका लागि नेपाल चीन व्यापार संघ, सीमापार व्यापार संघ, उद्योग वाणिज्य महासंघ लगायतका क्षेत्रलाई नेतृत्व लिन आग्रह गरेको तर सवारी चालकको जिम्मेवारी लिन कठिनाई हुने भन्दै चासो नदेखाएपछि मल्टी भिसा वितरणमा समस्या आएको वाणिज्य मन्त्रालयका उपसचिव बुद्धि प्रसाद उपाध्यायले बताए । चीनमा सामाग्री हराउने, सवारी साधन विँग्रदा बनाउन जान नपाउने तथा व्यापारमा सुरक्षा नभएको व्यापारीको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले ८ महिनाअघि चीन प्रवेशका लागि आवेदन दिएका दुई सयभन्दा बढीको नाम मन्त्रालयमा पठाएको थियो । गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र वाणिज्य मन्त्रालयमा फाइल पुगेर एक चरणमा छलफल भएपनि नेतृत्व लिने क्षेत्रको अभावका कारण समस्या आएकोे उपाध्यायको भनाई छ । रसुवाका बासिन्दालाई चीनमा गएर व्यापार व्यवसाय गर्न तथा आवतजावत गर्नका लागि एक वर्षको पास उपलव्ध गराउने भएपनि जिल्ला बाहिरका व्यक्ति नाकासम्म पुगेर फर्कनुपर्ने बाध्यता रहेको छ । भूकम्पका कारण सिन्धुपाल्चाकको तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि रसुवागढी नाका मात्र सञ्चालनमा रहेको छ ।