काठमाडौँ/ नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली वाङ्मयका विशिष्ट १० प्रतिभालाई जनही रु एक-एक लाख पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानको हिरक जयन्तीका अवसरमा साहित्यकार आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराँती, डा तारानाथ शर्मा, तेजेश्वरबाबु ग्वङ्ग, दीपनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शङ्करनाथ रिमाल र शान्तदास मानन्धरलाई पुरस्कारद्वारा सम्मान गर्न लागिएको हो । आगामी जेठ ६ गते सो पुरस्कार वितरण गरिनेछ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संस्थाको हिरक जयन्तीका उपलक्ष्यमा ‘मैथिली–नेपाली–अङ्ग्रेजी शब्दकोश’, ‘तामाङ व्याकरण’लगायत पुस्तक प्रकाशन गर्न लागेको जानकारी गराए ।

गत असार ९ गतेदेखि हिरक वर्षमा प्रवेश गरेको प्रतिष्ठानले एक वर्षसम्म विभिन्न गतिविधि तथा विभिन्न सांस्कृतिक समुदायको सहभागितामा राष्ट्रिय मातृभाषा, कविता महोत्सव, अन्तर्राष्ट्रिय दर्शन गोष्ठीलगायत कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिष्ठानले चाँडै अत्याधुनिक प्रेस तथा ई–पुस्तकालय सञ्चालन गर्ने सो संस्थाका उपकुलपति विष्णुविभू घिमिरेले जानकारी दिए।