भद्रपुर/आत्महत्याको प्रमुख कारण डिप्रेशन भएकाले आम मानिसले यसतर्फ ध्यानदिनुपर्ने बेला आएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
उदाशिनताको बारेमा खुलेर कुरा गरौ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवसको सन्दर्भमा जनस्वास्थ्य कार्यालय झापाले शुक्रवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उक्त कुरामा ध्यानदिनुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।
मानिसमा मानसिक तनाव, डर, त्रासले डिप्रेशन हुने, र यसको उपचारका लागि खुलेर नआउने जटिल समस्याका कारण यो रोग बढ्न थालेको जनस्वास्थ्यका फोकल पर्सन बज्रेश मेहताले बताए ।
नेपालसहित विश्वमा बर्षेनी डिप्रेशनका कारण ८ लाख मानिसको ज्यान जाने गरेको छ । यो रोगबाट ग्रसित ५० प्रतिशत मानिस उपचार गराउन नजाने गरेको तथ्याकले देखाएको मेहताको भनाई छ ।
पुरुष भन्दा महिलामा यो रोगले बढी सताउने गरेको छ । विश्वको कुल जनसख्यामा १८ प्रतिशत महिला , पुरुष र २० प्रतिशत बालबालिका डिप्रेशनबाट ग्रसित छन् ।
नेपालको सन्दर्भमा डिप्रेशनको उपचार गराउने अस्पताल र किल्निक नभएकाले मानिसहरु खुलेर उपचार गराउन आउन नसकेको अर्को जटिल समस्या देखापरेको कार्यालयले जनाएको छ ।
यसको उपचार सकारात्मक सोच, शारिरीक व्यायाम र चिकित्सकको सल्लाहमा औषधी सेवन गरे यो रोगबाट बच्न सकिने स्वास्थ्यकर्मीको भनाई छ ।