विर्तामोड /  मानव अपहरण तथा शरीर बन्धक बनाएर ठगी गरेको किटानी जाहेरीका आधारमा झापा प्रहरीले जिल्ला प्रशासन कार्यायका एक कर्मचारीसहित ३ जनालाई पक्राउ गरेको छ । अन्य दुईजना आरोपी फरार छन् । आफूलाई अपहरण गरी बन्धक बनाइएको भन्दै गत चैत २५ गते झापा अर्जुनधारा नगरपालिकाका जीवन विष्टले इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा २ जनालाई २६ गते र १ जनालाई २७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–८ का भूपू कान्छा नामले चिनिने अजय राई, सदरमुकाम भद्रपुर(७ का तेजेन्द्र न्यौपाने र भद्रपुर–६ का प्रेम न्यौपाने छन् । पक्राउ परेका तेजेन्द्र जिल्ला प्रशासन कार्यालय झापाका खरिदार हुन् । भूपू कान्छा उज्यालो यातायातका सञ्चालक र काङ्ग्रेसका कार्यकर्ता हुन् । प्रेम भने भद्रपुरकै न्यौपाने स्टोर्सका सञ्चालक हुन् । आफूलाई अपहरण गरेर जग्गाको कागजातमा जबरजस्ती सहीछाप गराएको पीडित जीवन बिष्टले प्रहरीमा जाहेरी दिएका छन् । यस विषयमा अनुसन्धान भइरहेको एसपी थापाले बताए । ‘जग्गा हडप्नका लागि उनीहरुले जीवन बिष्टलाई अपहरण गरी बन्धक बनाएर सहीछाप गराएको बुझिएको छ,’ एसपी थापाले भने, ‘अपहरणपछि डर, धम्की देखाएर जबरजस्ती सहीछाप गराउँदै जग्गा हस्तान्तरण भएको देखिन्छ, यस विषयमा अनुसन्धान जारी छ ।’ अपहरणकारीले सुनसरीको एक उपमहानगरपालिकाका मेयरको दावेदारका नातेदारका नाममा जग्गा पास गराएका थिए । पीडित बिष्टले ५ जनाको नाम प्रहरीमा दिए पनि २ जना भने अझै पक्राउ परेका छैनन् । प्रहरीले ती २ जनाको नाम बताउन चाहेको छैन । स्रोतका अनुसार फरारमध्ये एक जना टेलिभिजन पत्रकार हुन् । अर्का भने राजनीतिक ‘ब्याकग्राउण्ड’का युवा नेता भएको बताइएको छ । ‘फरारको नाम भन्न मिल्दै मिल्दैन,’ एसपी थापाले भने, ‘उनीहरुको खोजी कार्य जारी छ, । घटनामा जिल्लाका केही राजनीतिक दलका नेता तथा प्रशासनका कर्मचारीले मतियारका रुपमा सहयोग गरेको स्रोतको दावी छ । अनुन्ंधानपछि उनीहरुलाई समेत नियन्त्रणमा लिएर कावाही अघि बढाइने प्रहरीले जनाएको छ । झापा बाहिर रहेका बिष्टलाई योजनाबद्व रुपले बोलाएर घटना गराएको बताइएको छ । उनलाई गरामनीको एक होटलमा राखेर जग्गा पास गरेको स्रोतको दावी छ । होटलमा मालपोतका फाइल र कर्मचारी नै ल्याएर जग्गा पास गराएपछि पेस्तोल देखाउँदै उनलाई तर्साएर खेदाएको बुझिएको छ । त्यसपछि पीडित बिष्टले प्रहरीमा उजुरी गरेका हुन् ।