तरहरा/ क्याम्पस प्रशासनको चरम लापर्वाहीले इटहरीको जनता बहुमुखी क्याम्पस लथालिङ्ग हुँदै गएको भन्दै नेपाल विद्यार्थी सङ्घले आन्दोलनको घोषणा गरेको छ ।

सङ्घको क्याम्पस इकाइ कमिटीले उठाएका मागलाई बेवास्ता गरिएको भन्दै विद्यार्थीहरूले मङ्गलबार क्याम्पस प्रशासन घेराउ गरेका छन् ।

क्याम्पसमा नियमित हाजिर नहुने र निजी कलेजका सञ्चालकहरूलाई महत्वपुर्ण सङ्काय प्रमुखमा जिम्मेवारी दिन सिफारिस गरिएको भन्दै सच्याउन माग गरिएको छ ।

नियमित हाजिरीको व्यवस्था गरिनुपर्ने, निजी कलेजका सञ्चालकहरूलाई महत्वपुर्ण सङ्कायको जिम्मेवारी दिन नहुने, क्याम्पसको छाप र प्रमुखको हस्ताक्षर दुरूपयोगको विषयमा चाँडो निर्णय गरी दोषीलाई कारवाही गरिनुपर्ने र क्याम्पसको सरसफाइमा विशेष ध्यान दिइनुपर्नेलगायतका माग राखिएको नेविसङ्घ जनता क्याम्पसका कार्यवाहक सभापति विनय बाराकोटीले जनाए ।

क्याम्पसमा देखिएका समस्या समाधान गर्न पटक–पटक गरिएका प्रयासहरूमा क्याम्पस प्रशासन मौन बस्दै आएको भन्दै मङ्गलबार विद्यार्थीहरूले क्याम्पस प्रमुख नीरकुमार राईको कुर्सीमा ढुङ्गा राखेर त्यसप्रति विरोध जनाए ।

उनीहरूले आर्थिक स्तर कमजोर भएका तथा पहाडी जिल्लाहरूबाट आउने विद्यार्थीका लागि यातायातको व्यवस्था गरिनुपर्ने, क्याम्पस प्रशासन क्षेत्रमा सीसी क्यामेरा जडान गरिनुपर्ने, पूरा समय पढाइ हुनुपर्ने माग सङ्घले राखे पनि बेवास्ता गरिएका कारण आन्दोलनमा ओर्लिएको कार्यवाहक सभापति बाराकोटीले वताए ।

करीब २० दिनअघि कलेजका कक्षाकोठामा गएर सङ्घले समस्या सङ्कलन अभियान चलाएको थियो । त्यसको भोलिपल्ट विद्यार्थीका समस्या क्याम्पस प्रशासनसमक्ष राख्दा क्याम्पस प्रमुखले बेवास्ता गर्दै आएको उनले बताए ।

फिङ्गर प्रिण्ट हाजिरी, विद्यार्थीहरूले पुस्तक पाउनुपर्ने, सरसफाइ गरिनुपर्ने, विद्यार्थीहरूलाई सवारी साधनको व्यवस्था गरिनुपर्ने, लाइब्रेरीमा पुस्तक उपलब्ध हुनुपर्ने माग राख्दै आएको बताउँदै विद्यार्थीहरूले माग चाँडो पूरा नभए आगामी वैशाख ४ गतेदेखि क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरिने जनाए ।

क्याम्पस प्रमुख राईले भने सञ्चालक समितिको बैठक नबसेको कारण माग पूरा हुन नसकेको बताए । सञ्चालक समितिको बैठकमा मागबारे छलफल हुने उनको भनाइ छ । क्याम्पस प्रमुख राई समयमा क्याम्पस नआउने र आए पनि समय अवधिभर नबस्दा प्रशासन कमजोर भएको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका छन् ।