धरान/मकवानपुर जिल्लाको महनहरिमा सुरक्षाकर्मी र अज्ञात समूहबीच गोलीहानाहान भएको छ ।आइतबार बिहान २ बजेर ५० मिनट जाँदा मनहरि– २ वस्तिुपर भन्ने स्थानमा अज्ञात समूहले सुरक्षा निकायलाई लक्षित गरेर स्वचालित हतियार चलाएको हो ।

स्रोतका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा अपहरणमा परेका उम्मेदवारलाई खोजतलास गर्ने क्रममा सुरक्षा निकायमाथि अज्ञात समूहले गोली चलाएको थियो ।

जवाफमा सुरक्षा निकायले पनि गोली चलाएको छ । दुबै पक्षबाट गोली प्रहार भए पनि कुनै हताहत भएको छैन ।

सुरक्षा निकायले गोली चलाएपछि अज्ञात समूह भागेको स्रोतले जनाएको छ । उच्च सुरक्षा स्रोतका अनुसार गोली प्रहार गर्नेहरू ‘नेकपा’का कार्यकर्ता रहेको हुन सक्ने जनाइएको छ ।

स्थानीय तहको निर्वाचन विथोल्ने जनाएको नेकपाले विरोध स्वरुप विभिन्न कार्यक्रम गर्दै आएको छ ।

बम विष्फोट

यसैबीच, मकवानपुर जिल्लामा अज्ञात समूहले विभिन्न तीन स्थानमा बम विष्फोट गराएको छ । वम विष्फोट गराइए पनि कुनै क्षति भएको छैन ।

इन्द्रसरोवर– ३ फाखेलस्थित एमालेका उम्मेदवार धनवीर स्याङतानको घर नजिकै बम विष्फोट भएको छ । कैलास– १० वलमटारमा पनि एमालेका उम्मेदवार चम्वलाल रुम्बाको घर नजिकै बम विष्फोट भएको छ ।

थाहा नगरपालिका– ११ टिस्टुङमा पनि आइतबार बिहानै बम विष्फोट भएको छ ।

बम विष्फोट कसले गराएको जिम्मेवारी लिएको छैन । तर, सुरक्षा स्रोतका अनुसार विष्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुन सक्ने अनुमान गरेको छ ।दैनिकनेपालबाट