धरान/पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सुनसरीको भोक्राहा ५ मा भारतीय स्करपियो र यात्रुबाहक बस एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । ५ जना गम्भीर घाइते भएका छन् भने केही सामान्य घाइते छन् । आइतबार करिव साढे १ बजेतिर बिआर ४३ डि १२७१ नम्बरको भारतीय स्करपियो र ना ५ ख ६४३६ नम्बरको यात्रुबाहक बसबीच ठक्कर खादा एक भारतीयको मृत्यु भएको हो । मृत्यु हुनेमा कलकत्ता बंगालका २५ वर्षीय चैतन्यकृष्ण रहेको जिल्ला प्रहरी कार्यालय इनरुवाका डिएसपी प्रविन धितालले जानकारी दिए । त्यस्तै घाइते हुनेमा अधिकांस स्करपियो जिपमा सवारहरु छन् भने बसको एकजना यात्रु घाइते भएका छन् । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याइएको छ । सामान्य घाइतेहरुको इनरुवा अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा कलकत्ताकै २० वर्षीय दिपचन साह, ३० वर्षीय सुभाष बेहरा, गोपालगञ्ज जिल्ला संसारपुराका २८ वर्षीय भिमलेस कुमार, बराही हसनपुरा ६ मध्यपुराका ३५ वर्षीय अमोदकुमार अमर रहेका छन् । त्यस्तै बसका यात्रु सुनसरी सत्तेरझोडा–७ का विजयकुमार साहु छन् । उनीहरु मध्ये चारजना गम्भीर छन् भने एकजना सामान्य रहेको बताइएको छ । यात्रुबाहक बस पश्चिम तर्फ जाँदै थियो भने स्करपियो पूर्व तर्फ आउदै गरेको डिएसपी धितालले जानकारी दिए ।