धरान/जनताको उत्साहजनक सहभागितामा सम्पन्न भएको पहिलो चरणको निर्वाचनलाई दलका शीर्ष नेताहरूले ऐतिहासिक उपलब्धि भनेका छन् । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा पहिलो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्वक सम्पन्न भएपछि दलहरूले ऐतिहासिक भन्दै संविधान कार्यान्वयनको खुट्किलो भएको प्रतिक्रिया दिएका हुन् । पहिलो चरणपछि अब दोस्रो चरणको निर्वाचनका लागि बल प्रदान गरेको प्रतिक्रिया पनि दलहरूको छ ।

संविधान कार्यान्वयनका लागि ऐतिहासिक सफलता : उपराष्ट्रपति पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनको ऐतिहासिक सफलता भएको बताएका छन् । उल्लासपूर्ण रूपमा प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन भएपछि पुनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संघीय शासन व्यवस्थामा रहेको तीन तह संघ, प्रदेश र स्थानीयमध्ये स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु संविधान कार्यान्वयनका लागि ऐतिहासिक सफलता हो ।’

नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त नयाँ संविधान कार्यान्वयनको ऐतिहासिक खुट्किलो भन्दै पुनले स्थानीय तहको पहिलो चरणको निर्वाचन मतदाताहरूको भव्यतम सहभागिता र उल्लासमय वातावरणमा सम्पन्न भएको उल्लेख गरेका छन् । यस दिनलाई नेपालीको गौरवपूर्ण दिन भनेका छन् । निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्नुका साथै समृद्धिको ढोका खोल्नेसमेत उनले विश्वास गरेका छन् । सरकार, राजनीतिक दलहरू आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट समस्या समाधान गर्दै दोस्रो चरणको निर्वाचनमा जुट्नेमा उनले विश्वास व्यक्त गरेका छन् ।

राजपा र नयाँ शक्तिको प्रतिक्रिया राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले पहिलो चरणको निर्वाचन भएकोप्रति कुनै प्रतिक्रिया नभएको भन्दै दोस्रो चरणको निर्वाचनमा आफूहरूको चासो रहेको बताए । ‘२० वर्षपछि पहिलो चरणको निर्वाचन भयो, तर यसमा हाम्रो कुनै प्रतिक्रिया छैन,’ महतोले भने, ‘हामीलाई केही ठाउँमा भाग लिनबाट वञ्चित गरियो । अब मधेस आन्दोलनको जायज माग पूरा गरिनुपर्छ । संविधान संशोधनको विषय, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउने, मुद्दा फिर्ताजस्ता काम गरेर दोस्रो चरणको निर्वाचनलाई सफल बनाउन लाग्नुपर्छ ।’

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले स्थानीय तहको पहिलो निर्वाचनलाई ऐतिहासिक भनेका छन् । गोरखामा मतदान गरेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै भट्टराईले स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणको आधार बनोस् भन्ने प्रतिक्रिया व्यक्त गरेका छन् ।

 राष्ट्रिय मानवअधिकार आयोग र पर्यवेक्षकले कस्तो देखे निर्वाचन ? 

राष्ट्रिय मानवअधिकार आयोग र पर्यवेक्षण गर्ने संघसंस्थाले निर्वाचनलाई उत्साहपूर्ण रहेको बताएका छन् । मतदान प्रक्रिया अत्यन्त उत्साहपूर्ण तथा शान्तिपूर्ण रूपले सम्पन्न भएको भन्दै आयोगले नागरिक, सुत्केरी, अपांगता भएका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको जनाएको छ । अनुगमनका क्रममा मतदाताहरू तीनचार घन्टा हिँडेरै मतदान गर्न आएको र महिलाहरूको उल्लेख्य सहभागिता रहेको आयोगले जनाएको छ । आयोगले अध्यक्ष अनुपराज शर्मा नेतृत्वको उच्चस्तरीय अनुगमन टोली तथा ३४ वटै जिल्लामा ४२ वटा अनुगमन टोली खटाएको थियो ।

निर्वाचन पर्यवेक्षण गर्दै आएका संस्थाहरूले प्रदेश नम्बर ३, ४ र ६ का ३४ वटा जिल्लामा भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको जनाएका छन् । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले सबै मतदान केन्द्रमा खटिएका पयवेक्षकले दिएको प्रारम्भिक प्रतिवेदनका आधारमा स्थानीय तहको पहिलो चरणको निर्वाचन केही स्थानमा भएका छिटफुट घटनाबाहेक शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ ।

स्थानीय सरकारको सुरुवात : कांग्रेस कांग्रेस नेता रामचन्द्र पौडेलले पहिलो चरणको निर्वाचन सम्पन्न हुनुलाई देश एक पाइला अघि बढेको बताएका छन् । ‘पहिलो चरणको स्थानीय तहको निर्वाचन हुनु भनेको संविधान कार्यान्वयनका लागि देश एक पाइला अगाडि बढ्नु हो,’ पौडेलले भने, ‘हामीले परिकल्पना गरेको स्थानीय सरकारको सुरुवात भएको छ । स्थानीय तहमा जनताका प्रतिनिधि आएपछि आफ्नो शासन आफैँ गर्ने क्रमको सुरुवात अब हुने भएको छ । अब संविधान कार्यान्वयन अगाडि बढ्यो ।’

उत्साहका साथ सम्पन्न : एमाले प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको पहिलो चरणको निर्वाचन उत्साहपूर्वक सकिएको जनाएको छ । महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै अधिकांश ठाउँमा शान्तिपूर्वक तथा उत्साहपूर्वक निर्वाचन सम्पन्न भएको जनाएका हुन् । ‘स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अत्यन्त उत्साहका साथ सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाता तथा निर्वाचनमा सहभागी सबै राजनीतिक दल तथा उम्मेदवारलाई एमालेका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ,’ पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भए पनि दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, हुम्ला, धादिङ, दैलेखलगायत जिल्लाका विभिन्न मतदान केन्द्रमा सत्ताधारी पार्र्टीहरूबाट भएका हिंसा तथा बुथ कब्जाका गतिविधि गरेको आरोप एमालेले लगाएको छ । निर्वाचन आयोग, गृह प्रशासन तथा सम्बन्धित जिल्लाका सुरक्षा निकायहरूसँग पटक–पटक आग्रह गर्दा पनि दोलखालगायत जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा भयरहित ढंगले मतदान गर्न पाउने नागरिकको मौलिक अधिकारको रक्षा गर्न नसकेकामा एमालेले चिन्ता व्यक्त गरेको छ ।

मतदान बदरको माग एमालेले निर्वाचनको न्यूनतम मापदण्ड र निर्वाचन आचारसंहिताविपरीत भएको मतदान बदर गर्न माग गरेको छ । त्यस्ता ठाउँमा पुनः मतदान गर्न निर्वाचन आयोगसँग एमालेले माग गरेका छ । जबर्जस्ती र बुथ कब्जाबाट आउने परिणाम जनताका लागि स्वीकार्य नहुने र यस्ता घटनाले लोकतन्त्रप्रति नै वितृष्णा बढाउने एमालेको भनाइ छ ।

निर्वाचन कोसेढुंगा: प्रधानमन्त्री प्रचण्ड पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनलाई कोसेढुंगा भनेका छन् । ‘पहिलो चरणको स्थानीय तहको निर्वाचन उत्साहपूर्वक सफल भएको छ । नेपालको इतिहासमा स्थानीय तहको निर्वाचन सफल हुनु एउटा कोसेढुंगा हो,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले नयाँ पत्रिकासँग भने, ‘निर्वाचनपछि अब संविधान कार्यान्वयन हुँदै जान्छ । राजनीतिक स्थिरतापछि देश विकासको नयाँ युगमा प्रवेश गर्ने र देश आर्थिक समृद्धिमा अघि बढ्छ भन्ने मेरो विश्वास छ ।’

प्रधानमन्त्री प्रचण्डले निर्वाचन सफल भएकोमा खुसी व्यक्त गर्दै निर्वाचन सफल बनाउन सहयोग गर्ने राजनीतिक दल, निर्वाचन आयोग, कर्मचारी, सुरक्षार्की पर्यवेक्षकसहितलाई प्रधानमन्त्रीले धन्यवाद दिएको आचार्यले जानकारी दिए । साथै, अब दलहरू दोस्रो चरणको निर्वाचनलाई सफल पार्न लाग्नुपर्ने पनि प्रधानमन्त्रीले बताएका छन् ।

दोस्रो चरणको निर्वाचनलाई बाटो खुल्यो : राप्रपा राप्रपा अध्यक्ष कमल थापाले निर्वाचनलाई ऐतिहासिक महत्वको भएको प्रतिक्रिया दिएका छन् । ‘आज ऐतिहासिक महत्वको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । पहिलो चरणको यस निर्वाचनमा जनाइएको जनसहभागिताले संविधान कार्यान्वयन गर्ने राष्ट्रिय प्राथमिकतालाई सहज बनाएको छ,’ थापाले भने, ‘यसले दोस्रो चरणको स्थानीय निर्वाचनका लागि पनि सहज वातावरण बनाउनेछ ।’

निर्वाचन उत्साहपूर्ण : संघीय समाजवादी फोरम निर्वाचनमा भाग लिएको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा व्यापक सहभागिता भएको भन्दै अब दोस्रो चरणको निर्वाचनलाई सफल बनाउने चुनौती थपिएको बताएका छन् । ‘जनताको उत्साह, उमंग र व्यापक सहभागितमा पहिलो चरणको निर्वाचन हुनु भनेको राम्रो संकेत हो । अब दोस्रो चरणको निर्वाचनलाई यस्तै उत्साहपूर्ण बनाउनका लागि संविधान संशोधन छिटो गरेर निर्वाचन हुने वातावरण बनाउनुपर्छ,’ यादवले नयाँ पत्रिकासँग भने, ‘निर्वाचन गराउने विषयमा केही ठाउँमा कमजोरी भएका छन् । दोस्रो चरणको निर्वाचनमा यस्तो कमजोरी हुनुहुन्न ।’नयाँ पत्रिकाबाट