चितवन/निर्वाचनको कारण दुई सातायता कुनै पनि संस्थाले रक्तदानको कार्यक्रम नगर्दा चितवनमा रगतको अभाव भएको छ । रगत आवश्यकपर्ने बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्ने बाध्यता आइपरेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार निर्वाचनको मनोनयन दर्तासँगै सबै निर्वाचनमा जुटेपछि रक्तदान कार्यक्रमको आयोजना नहुँदा रगतको अभाव भएको हो । अस्पतालका बिरामीले रगत नपाएपछि भरतपुरको मनकामना अस्पतालले आज रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । अस्पतालका सञ्चालक ध्रुव काफ्लेले आफ्नो अस्पतालमा रगत चाहिएका बिरामीले रगत नपाएपछि अस्पतालले नै रक्तदान कार्यक्रम आयोजना गरेको बताए । उनले भने “बिरामीले रगत पाउन छोडे, मानवीय सेवा र कर्तव्य दुबै हुने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरेका हौंँ ।” रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख पौडेलका अनुसार जिल्लामा दैनिक एक सयदेखि १५० युनिटसम्म रगत आवश्यक पर्छ । गत वर्ष ३५ हजार युनिट रगत प्रयोग भएको थियो । भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीका लागि बढी रगत आवश्यक पर्छ । जिल्लामा युवाद्वारा गठित “युथ फर ब्लड” समूहले रक्तदाता खोजेर रगत उपलब्ध समेत गराउँदै आएको छ । अन्य समयमा अरु जिल्लाबाट रगत ल्याएर परिपूर्ति गर्ने गरेको भए पनि यस पटक यस क्षेत्रका सबै जिल्लामा निर्वाचन भएकाले अन्यत्रबाट रगत ल्याउन नपाएको पौडेलले बताए । रासस