धरान/आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहको संख्या थपघट र मतपत्र हेरफेर नहुने भएको छ । मधेसकेन्द्रित दलको मागअनुसार सरकारले स्थानीय तहको संख्या बढाउने तयारी बढाए पनि अब स्थानीय तहको संख्या हेरफेर गर्दा जेठ ३१ मा निर्वाचन गर्न नसकिने भन्दै निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेको हो । निर्वाचन आयुक्त नरेन्द्र दाहालले दोस्रो चरणको निर्वाचनको तयारी अघि बढिसकेकाले अब संख्या थप्न र मतपत्र हेरफेर गर्न नसकिने बताए ।   ७ सय ४४ स्थानीय तहमध्ये प्रदेश नं. ३,४ र ६ का ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा वैशाख ३१ गते निर्वाचन सम्पन्न भइसकेको छ । अब प्रदेश नं. १, २, ५ र ७ का ४१ जिल्लाका तीन सय ६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको स्थानीय तह निर्वाचन हुने कार्यक्रम छ । सरकारले दोस्रो चरणमा स्थानीय निर्वाचन हुने स्थानमा संख्या बढाउन उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा कार्यदल गठन गरेको नागरिक दैनिकमा खबर छ ।