चितवन/देशभरबाट संकलन गरिएको वन्यजन्तुका आखेटोपहार सोमबार चितवनमा नष्ट गरिएको छ । देशभरका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, जिल्ला वन कार्यालय लगायतबाट सकंलित आखेटोपहारलाई अन्तराष्ट्रिय जैविक विविधता दिवसको दिन पारेर चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा नष्ट गरिएको हो ।

२० बर्षदेखि भण्डारण गरिएको आखेटोपहार  परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, वन तथा भू संरक्षण मन्त्री शंकर भण्डारी, जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीलगायतको उपस्थितिमा आगो लगाएर नष्ट गरिएको छ । लामो समय भण्डारण गर्दा व्यवस्थापन र सुरक्षा चुनौती बढ्दै गएको र आखेटोपहारको महत्व छैन भन्ने सन्देश दिनको लगी पनि अखेटोपहार नष्ट गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले बताए ।

टकौली र कसरामा भण्डारण गरिएको ४ हजार १२ थान अखेटोपहार नष्ट गरिएको अखेटोपहार व्यवस्थापन कार्यान्वयन समितीका संयोजक समेत रहेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका महानिर्देशक मन बहादुर खड्काले जानकारी दिए । खड्काका अनुसार बाघका छाला ६७ थान, गैडाको खाग ३ सय ५७ थान, हात्तीको पुच्छरको रौं ३ सय ५४ थान, कस्तुरी मृगको बिना ३६ थान, चितुवाको छाला ४ सय १८  थान लगायतका आखेटोपहरहरु नष्ट गरिएको छ ।

कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव, विभागीय प्रमुखहरु, मध्यवर्तीका प्रतिनिधि, राष्ट्रिय योजना आयोजका सदस्य, दातृ निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो