धरान/स्थानीय तहको पहिलो चरणको निर्वाचनमा आफूलाई भोट नदिई हराएको भन्दै सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवारले एक महिलामाथि निर्घात कुटपिट गरेका छन् ।
घटना नुवाकोट जिल्लाको हो । यहाँको किस्पाङ गाउँपालिकामा कांग्रेस उम्मेदवारलाई भोट नहालेको भन्दै बुधबार मध्यराति स्थानीय मञ्जुमाया घलेलाई हातखुट्टा बांधेर कुटपिट गरिएको हो ।
कांग्रेसका स्थानीय उम्मेदवारको निर्देशनमा समूहमा आएका कांग्रेस कार्यकर्ताले चुनावमा अर्को उम्मेदवारलाई भोट हालेर ‘हाम्रालाई’ हराएको भन्दै घलेमाथि सांघातिक आक्रमण गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
प्रत्यदर्शी परिवारका सदस्यका अनुसार घलेको हातखुट्टा बांधेर, मुखमा समेत बुझो लगाएर ७ जनाको समुहमा आएका कांग्रसका कार्यकर्ताले निर्घात कुटपिट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइते घलेको अहिले स्थानीय अस्पतालमा उपचार हुदैंछ । मध्यरातमा महिलाका आफन्तले महिलामाथि बांधेर कुटपिट गरेको खबर गर्दा घटनास्थल पुगेको प्रहरीले आफन्तले हातखुट्टा बाधेको खादा फुकाइसकेको अवस्थामा भेट्टाएको प्रहरी सहायक निरीक्षक बेगबहादुर खड्काले जानकारी दिए ।
दैनिक नेपालबाट