धरान/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनको तरखर सुरु भएको छ । देउवा सरकारको प्रमुख सत्तासाझेदार माओवादी केन्द्र हुने निश्चित देखिएको छ ।
नयाँ सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालय बाँडफाँटका विषयमा नेपाली कांग्रेस र माओवादीका नेताहरुबीच अनौपचारिक छलफल सुरु भइसकेको छ । सरकारमा माओवादीले उपप्रधानसहित गृह मन्त्रालय पाउने पक्कापक्की रहेको माओवादी स्रोतको दावी छ । अन्य मन्त्रालयहरु भने माओवादीले अहिले लिएका मन्त्रालय नै हुने छन् भने अर्थ र सूचना तथा सञ्चार मन्त्रालय कांग्रेसले लिएर अन्य दुई मन्त्रालय माओवादीलाई दिइने गरी दुई दलबीच छलफल भइरहेको कांग्रेस स्रोतको भनाइ छ ।
मन्त्रालय बाँडफाँटसँगै नेकपा माओवादीमा देउवा सरकारमा सहभागी हुन कुन नेताले पार्टीको नेतृत्व गर्ने भन्ने विषयमा पनि चर्चा सुरु भएको छ । माओवादी केन्द्रका नेताहरुका अनुसार पार्टीको नेतृत्व गरेर सरकारमा सहभागी हुन अहिले तीन नेताहरु दावेदारका रुपमा अगाडि आएका छन् ।
जनार्दनदेखि टोपबहादुरसम्म दावेदार
पार्टीको नेतृत्व गरी देउवा नेतृत्वको सरकारमा सहभागी हुन माओवादी नेताहरु टोपबहादुर रायमाझी, जनार्दन शर्मा ‘प्रभाकर’ र गिरिराजमणी पोखरेलको नाम चर्चामा छ ।
अहिलेको अवस्थामा अध्यक्ष प्रचण्डका विश्वासपात्र तथा वर्तमान सरकारको उर्जा मन्त्रालयमा रहेर चर्चा बटुलेका जनार्दन शर्माले गृहमन्त्रीको रुपमा पार्टीको नेतृत्व गरी सरकारमा सहभागी हुने संभावना बढी छ । प्रचण्ड नेतृत्वको सरकारमा उत्कृष्ट काम गरेकाले अबको सरकारमा पनि राम्रो काम गर्ने अपेक्षासहित उनलाई नेतृत्व दिइनुपर्ने कतिपय माओवादी नेताको भनाइ छ ।
अर्कोतर्फ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले भने आफू पक्षका नेता गिरिराजमणी पोखरेललाई गृहमन्त्रीको रुपमा पार्टीको नेतृत्व गर्नेगरी सरकारमा पठाउने योजना बनाएका उनका निकटवर्तीहरु बताउँछन् । पार्टीभित्र सन्तुलन मिलाउन पनि गिरिराजमणीलाई गृह मन्त्रालयसहित पार्टीको नेतृत्व गर्ने गरी सरकारमा पठाउनुपर्ने नारायणकाजी पक्षका नेताहरुको भनाइ छ । उनी यसअघि ओली सरकारमा शिक्षा मन्त्री भएका थिए । ओली सरकारमा सहभागी अन्य माओवादी मन्त्रीले खासै काम नगरेको गुनासोका बीच शिक्षा ऐन (आठौं संशोधन) मार्फत पोखरेलले शिक्षा क्षेत्रमा नीतिगत सुधार गरेको जस पाएका थिए ।
पोखरेलले यसअघि प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । पोखरेलले त्यतिबेला स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधारको विकास र जनशक्ति व्यवस्थापनमा केही राम्रो काम गरेको जस पाएका थिए ।
देउवा सरकारमा पार्टीको नेतृत्व गरेर गृह मन्त्रालय सम्हाल्ने दावी प्रस्तुत गर्नेमा माओवादी नेता टोपबहादुर रायमाझी पनि छन् । उनी यसअघि केपी ओली नेतृत्वको सरकारमा माओवादीको नेतृत्व गरेर सहभागी भइसहेका हुन् । ओली सरकारमा उनले उपप्रधानसहित उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । तर उनले खासै राम्रो काम गर्न नसकेको भनेर आलोचना खेप्नु पर्यो ।
डा. बाबुराम भट्टराई माओवादीमा हुँदा उनी भट्टराई पक्षधर मानिन्थे । भट्टराईले माओवादी परित्याग गरेपछि उनीपनि सँगै जाने चर्चा चलेका बेला सरकारमा सहभागी हुने मौका पाएपछि तत्काल उनले माओवादी पार्टी छाडेनन् । ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रचण्ड नेतृत्वको सरकार गठनका बेला पनि उनी मन्त्री बन्न पाउनुपर्ने भन्ने अडानमा थिए । तर त्यसबेला एकैजना व्यक्तिले लगातार मन्त्री बन्न नपाउने भन्ने आवाज पार्टीभित्र उठेपछि रायमाझीको चाहना पुरा हुन सकेन ।
माओवादी केन्द्रका एक केन्द्रीय नेताका अनुसार रायमाझीले देउवाको सरकारमा सहभागी हुँदा आफूले पार्टीको नेतृत्व गर्न पाउनुपर्ने भन्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग प्रस्ताव नै राखिसकेका छन् । तर प्रचण्डले त्यसबारे रायमाझीलाई कुनै जवाफ दिएका छैनन् ।
माओवादी नेताका अनुसार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि भावी सरकारका मन्त्रीका विषयमा छलफल सुरु हुने छ । ‘मन्त्रीकै लागि विवाद हुने अवस्था छैन,’ एक माओवादी नेताले भने, ‘अबको एक–दुई दिनभित्रै छलफल गरेर पार्टीका तर्फबाट मन्त्रीको टुंगो लगाइन्छ ।
श्राेत लाेकान्तरडटकम