लुक्ला/गोमा एयर (समिट एयर) लुक्ला विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको छ । सामान बोकेर लुक्ला तर्फ हिडेको कार्गो विमान तेन्जिङ हिलारी बिमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको हो । विमान दुर्घटनामा परी एयर होष्टेज प्रज्ञा मानन्धरलाई हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौं ल्याइदै छ । नाईन एनएकेए कल साइन भएको विमान शनिबार दुर्घटनामा परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले दुर्घटना भएको जानकारी दिए । उनका अनुसार हावाको चापको कारण दुर्घटना भएको हुन सक्छ । बिमानमा रहेका क्याप्टेन पारसकुमार राई र कोपाइलट सृजन मानन्धरको खोजी कार्य जारी छ । बिमान काठमाडौंबाट साढे १ बजे उडेको थियो ।