नेपाली पपसंगीतमा चर्चा कमाएका थोरै कलाकारमध्ये नवीन के भट्टराई पनि एक हुन् । १४ वटा एल्बममा स्वर भरेका भट्टराईका सबैजसो गीतले बजार पाए, श्रोताको साथ पाए । साँझपख एकान्तमा, तिमी हौ लाखौँको धड्कन, आँखामा तिमीलाई, डर लाग्छ तिम्रो मेरो, ए झरीलगायत गीतले उनलाई आजका दिनमा पनि फुर्सद नमिल्ने स्थानमा पुर्यायो । तर, चार वर्षयता भने उनले कुनै पनि गीत रेकर्ड गराएका छैनन् । श्रोताहरूले त भन्न थालिसके, कता हराए पपगायक नवीन के भट्टराई ?
नेपालमा पपगायन बिकाउ बनाउन योगदान दिए । श्रोताको कण्ठमा उनका पपसंगीतले स्थान पाए । गायक भट्टराईका हरेक पपगीतमा प्रश्न उठाउने हिम्मत कसैले गर्न सकेन, कारण श्रोताले मन पराइदिए । आखिर नेपाली संगीतको नयाँ ट्रेन्डलाई एकाएक श्रोताप्रिय बनाइदिन कसरी सके उनले ? सायद स्कुले जीवनदेखि नै गीत–संगीतसँग नजिक थिए, मेरो अनुमान रह्यो ।
लहलहैमा सुरु गरेको कामले पनि कसैलाई त सफलताको सिँढी चढाइदिन्छ । यस्तै भयो गायक भट्टराईलाई पनि । बूढानीलकण्ठको पढाइसँगै अंग्रेजी उकासेका उनले अंग्रेजी गीत सुन्थे र कण्ठ पार्दै रमाइलोका लागि गाउँथे । गायक बन्ने धुनमा उनले स्वर तिखारेका थिएनन् । तर, साथीहरूले स्वर नै राम्रो भनिदिएपछि भने उनी सोच्न बाध्य भए । लहलहैबाट केही माथि उठेर वैधानिक रूपमै संगीतमा जोडिए । ‘द स्टिल ह्विल्स ब्यान्डमा आबद्ध भएर ०४८ देखि लाइभ सोहरूमा अंग्रेजी गीत गाउन थालेँ,’ भट्टराईले गायन यात्राको सुरुवाती चरण सम्झिए ।
पपगायनमा भट्टराईको स्टाइल नै फरक छ ।
सुरुदेखि नै यस्तो हो । उनका गीतमा अन्तरा प्रायः भेटिँदैन । यसलाई आफ्नै स्टाइल भन्छन् उनी । उनले ०४८–४९ तिर पपगीत गाउँदा सुन्नेहरू हसिमजाक गर्थे । आफ्नो गीतमा युवापुस्ताको क्रेज ह्वात्तै देखेका उनले धेरै उपेक्षालाई मतलब गरेनन् । ‘हामीभन्दा अघि सञ्जय श्रेष्ठ, भीम तुलाधर, हरेस माथेमा दाइहरू हुनुहुन्थ्यो पपगीत गाउने । उहाँहरूकै प्रेरणाले पनि म यतातिर तानिएँ । तर, पपगीत सुनेर त्यतिखेर अधिकांशले उपेक्षा गर्थे, छ्या ! यस्तो पनि गीत, भन्थे,’ भट्टराईले भने ।
०४८ बाट पपगीत गाउन सुरु गरेका उनलाई ०४९ मा एउटा ठूलै मौका मिल्यो । प्रज्ञा प्रतिष्ठानमा गन्नमान्य गायक–गायिकाको बीचमा उनको प्रस्तुति पनि अटायो । कार्यक्रममा तत्कालीन राजा वीरेन्द्र पनि उपस्थित थिए । ‘त्यो कार्यक्रममा मिलेको अवसरले मलाई गायनमा ठूलो आत्मविश्वास बढ्यो, खारिने मौका मिल्यो । यो प्रस्तुतिपछि गीत रेकर्ड गर्ने रहर पनि जाग्यो ।’
‘नयाँ गीत रेकर्ड गर्दै छु । छिट्टै ल्याउँछु । थप अहिले खुलासा नगरौँ ।’ गीत रेकर्ड नगर्नुको मतलब, पपगायक भट्टराईको उपस्थिति नै गुम्यो भन्ने होइन । उनी अहिले पनि व्यस्त छन्, स्टेज सोहरूमा ।
पपसंगीतमा सफलता मात्रै चुमेका उनले शालीन र मिलनसार व्यक्तित्वलाई कहिल्यै घमन्डले थिच्न दिएका छैनन्। बिदाइको अन्तिममा उनले आग्रह गरे, ‘मेरा श्रोतालाई नवीन फेरि आउँदै छ भनिदिनू है ।’