धरान/ करिब एक लाख १२ हजार मत खसेको भरतपुर महानगरपालिकामा अब चारवटा वडा मतगणना गर्न बाँकी रहेको छ । शनिबार बेलुका सकिएको वडा नम्बर २२ मा नेकपा एमालेका उमेदवार प्यानलसहित विजयी भए ।यो वडामा माओवादी केन्द्रकी उमेदवार रेणु दाहालले सोचेअनुसारको मत प्राप्त गर्न सकिनन् ।

यो वडामा रेणुले करिब ५ सय मतले अग्रता कायम राख्ने सोच बनाएको भए पनि १५३ मतले मात्रै अग्रता कायम राखिन् ।अहिलेसम्म नेकपा एमालेका देवी ज्ञवाली करिब १४३० मतले अघि छन् ।

उनलाई जित्नका लागि अब रेणु दाहालले बाँकी रहेका चारवटै वडामा करिब ३५८ मतले अग्रता कायमै राख्नुपर्ने हुन्छ । जुन चुनौतिपूर्ण छ ।भरतपुरमा निर्णायक मानिएको कांग्रेसको मत उनलाई ५० प्रतिशत मात्रै औसतमा परेको स्थानीय नेताहरु बताउँछन् ।वडा नम्बर १७ पनि नेपाली कांग्रेसको पकड मानिएको क्षेत्र हो ।

अब बाँकी रहेका  १८, १९, २० र २१ नम्बर वडाबाट दाहालले प्रत्येक वडाबाट ३५८ मतले अग्रता हासिल गर्न सकिनन् भने उनले हार बेहोर्नुपर्ने निश्चित छ ।

यी वडा भने नेपाली कांग्रेसका मतदाता उल्लेख्य रहेको क्षेत्र हो तर ५० प्रतिशत मात्रै कांग्रेस कार्यकर्ताले उनलाई मतदान गरेको भए उनलाई जितका लागि समस्या पर्ने देखिन्छ । यही क्षेत्रबाट कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले जितेका थिए । उक्त क्षेत्रबाट रेणुलाई सोचेजस्तो मत आउने कांग्रेस–माओवादीको अपेक्षा छ ।

यी वडाको मत परिणामले रेणुको जितहार निश्चित गर्नेछ । यी वडामा ६० प्रतिशत बढी मत खस्यो भने मात्र रेणुको जितको सम्भावना बलियो भएर जाने स्थानीय नेता तथा कार्यकर्ता बताउँछन् । तर, त्यसरी मत खसेन भने उनको जितको सम्भावना टर्दै जानेछ । यी वडाको मतगणना रेणुका लागि पर्ख र हेर जस्तो भएको छ । २९ वटा वडा रहेको भरतपुरमहानरमा १ लाख १२ हजार ७४१ मत खसेको छ । बाँकी रहेका दुई वडाको मतगणना सकिँदासम्म कसले जित्ने भन्ने लगभग निश्चित हुनेछ ।