काठमाडौँ/वन विभागले सामुदायिक वनबाट यो आर्थिक वर्षमा रु एक करोड ९१ लाख आम्दानी गरेको छ । विभागले यो चालु आर्थिक वर्षको दश महिनामा बहुमूल्य काठ साल, सिसौ, खयर, चाँपलगायतका काठ बिक्रीबाट उक्त रकम सङ्कलन गरेको प्रवक्ता ईश्वरी पौडेलले जानकारी दिनुभयो । विभागले सामुदायिक वनबाट आम्दानी भएको रकम समुदायलाई नै दिँदै आएपनि बहुमूल्य काठको बिक्री वितरणबाट जम्मा भएको रकमको १५ प्रतिशत भने सम्बन्धित जिल्ला वन कार्यालयले लिँदै आएको छ । विभागले आव २०७२/७३ मा रु सात करोड आम्दानी गरेपनि यो वर्षभने धेरै कम आम्दानी गरेको हो । विसं २०३० मा सिन्धुपाल्चोकको ठोकर्पा वनमा सिन्धुपाल्चोकका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको योगदानमा सामुदायिक वनको अवधारणा सुरु भए पनि हाल नेपालमा १९ हजार ३६१ सामुदायिक वन छ । अहिलेसम्म ७४ जिल्लामा सामुदायिक वन छ भने मुस्ताङमा कुनै सामुदायिक वन छैन । उक्त सामुदायिक वनबाट हाल २४ लाख ६१ हजार ५४९ घरधुरी लाभान्वित भएको विभागले जनाएको छ । रासस