काठमाडौं/ बलिउडका उम्दा अभिनेता डेनी डेनजोङ्पा र दिवंगत अभिनेत्री परबीन बाबीले सन् १९७० को दशकमा केही समयका लागि सम्बन्ध बनाएका थिए । भद्र खालका डेनीले परबीनका बारेमा राम्रो स्मृति संकलन गरेका छन् र उनी परबीनलाई राम्रो मान्छे र असाध्यै सुन्दर भनी चित्रण गर्छन् ।
फिल्मफेयर पत्रिकालाई अन्तर्वार्ता दिँदै डेनी भन्छन्, ‘हामीहरू जवान थियौं र चार वर्ष सँगसँगै बस्यौं । त्यतिखेर त्यो पनि ठूलो खबर बन्थ्यो । हामीले गजबको समय बितायौं र पछि चाहिँ समझदारीमै छुट्टियौं । हामी साथी नै रह्यौं ।’ परबीनले पछि अभिनेता कबीर बेदीसँग अनि निर्देशक महेश भट्टसँग पनि सम्बन्ध बनाइन् । उनीहरू जुहुको कालुमल इस्टेटमा बस्थे । उनी परबीनको असाधारण अवस्थाका बारेमा पहिलोचोटि ध्यान दिएको कुरा पनि बताउँछन् । ‘म एकचोटि उनकोमा डिनर खान गएको थिएँ । टेबलमा शंखहरू राखिएका थिए । मैले शंख बजाउन थाल्दा उनी तर्सिन् । त्यतिखेर महेश भट्टले भने, उनी आजकल सानो कुरामा पनि तर्सिन्छिन् र एकान्तमा बस्न मन पराउँछिन् ।’ पछिपछि त परबीन चिच्याउने कराउने गर्न थालिन् । उनलाई मानसिक समस्या भयो । त्यतिखेर डेनीले उनलाई भने, ‘नडराऊ, म तिमीसँग छु । अनि उनी ठीक पनि हुन्थिन् ।’ तर परबीनलाई प्यारानोइड सिजोफ्रेनिया भयो र उनी सेलेब्रिटीहरूप्रतिको अनावश्यनक डर पाल्न थालिन् । डेनीसँग पनि उनी डराउन थालिन् । पछि गुमनामीमा नै उनको मृत्यु भयो ।