काठमाडौं/बलिउड अभिनेता राजकुमार रावले ‘बहन होगी तेरी’ फिल्ममा ८० वर्षीया अभिनेत्री कमलेश गिललाई किस गरेर सनसनी मच्चाएका छन् ।

फिल्मको एक सीनमा उनले मुखबाट सास दिने काम अर्थात् सीपीआर गर्नुपर्ने थियो । फिल्मको ट्रेलरमा पनि यो सीन छ । त्यसमा बिन्नी (श्रुति हासन) ले गट्टु (राजकुमार) लाई एक वृद्ध महिला (कमलेश गिल)लाई सीपीआर दिन लगाउँछिन् । सीपीआर सीनका लागि राजकुमारले १८ वटा रिटेक लिनुपरेको थियो । यो अवधिमा उनलाई हाँसो रोक्न गाह्रो परेको थियो । अझ, एउटा टेकमा त उनले कमलेशलाई किस नै गरे र पूरै सेटमा शान्ति छायो । तर कमलेश आफैंले मजाले हाँसेपछि पूरै सेटमा हाँसोको फोहरा छुट्यो । त्यो दिनभरि यो किसको चर्चा चलिरह्यो । अजय पन्नालालले निर्देशन गरेको फिल्म बहन होगी तेरी जेठ २६ गते रिलिज हुँदैछ । फिल्ममा गौतम गुलाटीको पनि प्रमुख भूमिका छ ।