धरान/भारतका केन्द्रीय सरकारका एक मन्त्रीले मोबाइल फोनमा प्रस्ट सिग्नल नआएपछि रुख चढेर कुरा गर्ने स्थिति आएको छ ।
आइतवार राजस्थान पुगेका अर्थ राज्यमन्त्री अर्जुन मेघवाल एक गाउँमा डिजिटल इन्डिया सपनाको वास्तविकता बुझ्नका लागि पुगेका थिए ।
आफ्नो संसदीय निर्वाचन क्षेत्र बिकानेरको गाउँमा पुगेर मिडिया क्याम्पेन गर्ने क्रममा उनको मोबाइलको सिग्नल हराएको थियो ।
गाउँलेहरूले उनलाई समस्या सुनाएपछि उनले अधिकारीहरूलाई फोन लगाउन खोजेका थिए तर सिग्नल आएन । एक गाउँलेले स्थानीय अस्पतालमा नर्सहरूको अभाव रहेको गुनासो गरेपछि मन्त्रीले स्वास्थ्य अधिकारीलाई फोन लगाउन खोजेका थिए तर सफल भएनन् ।
धूलिया गाउँ नजिकैको शहरभन्दा ८५ किलोमिटर टाढा छ र त्यहाँ बालुवामा २०० वटा घर छन् ।
गाउँलेहरूले यहाँ सिग्नल समात्न लगभग असम्भव रहेको मन्त्रीलाई बताएका थिए तर उनीहरूसँग यसको उपाय पनि थियो ।
‘रुख चढ्नुस्,’ उनीहरूले मेघवाललाई भने । उनी केही क्षण त अलमल्ल परे । यी ६२ वर्षीय मन्त्री प्रायः टाउकोमा फेटा बाँधेकै भेटिन्छन् र उनले सजिलै रुख चढ्न नसकिने स्वीकारेका थिए ।
त्यसपछि तत्कालै एउटा भ–याङ ल्याइयो र मन्त्री रुख चढेर फोन गर्न थाले । उनको फोनमा सिग्नल पनि आयो ।
भ–याङ चढेर रुखमा अडेस लगाउँदै अधिकारीसँग मन्त्री मेघवालले कुरा गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनी फोनसंवाद सकेपछि ओर्लिएका थिए र गाउँलेहरूले हाँस्दै ताली बजाएका थिए ।