विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ ।
शनिबार क्यान्सरको प्रारम्भिक पहिचान, रोकथाम तथा उपचार सेवामा समुदायको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न भएको हो । प्रतिष्ठानको अंकोलोजी विभागको आयोजनामा तथा बीपीकेआईएचएस स्टुडेन्ट्स अंकोलोजी विङ्गको संयोजनमा आयोजित तेस्रो अन्तर्राष्ट्रियस्तरको ‘थर्ड अंकोलोजी इसेन्सियल्स वर्कशप–२०८३’ शुक्रबार सम्पन्न भएको हो ।
हेल्थ भोलुन्टियर्स ओभरसिज, संयुक्त राज्य अमेरिकाको सहयोग तथा नेपाल हेल्थकेयर सेन्टरको सहकार्यमा सम्पन्न कार्यशालाको मुख्य उद्देश्य कोशी प्रदेशमा क्यान्सर स्क्रिनिङ, प्रारम्भिक पहिचान र उपचार सेवामा समुदायको पहुँच बढाउनु रहेको आयोजकले जनाएको छ ।
कार्यशालामा क्यान्सर नियन्त्रणका लागि समुदायस्तरदेखि विशेषज्ञ स्वास्थ्य सेवासम्म प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको विषयमा जोड दिइएको थियो । कार्यशालाको उद्घाटन सत्रमा प्रतिष्ठानको अंकोलोजी विभागकी प्रमुख डा. सोनिया दुलालले कार्यक्रमको उद्देश्य र अपेक्षित उपलब्धिबारे जानकारी गराएकी थिइन् ।
कार्यशालामा क्यान्सर स्क्रिनिङ, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, जठरान्त्रसम्बन्धी क्यान्सर तथा कलेजोको प्राथमिक क्यान्सरलगायत विषयमा विशेषज्ञहरूले प्रस्तुति दिएका थिए । त्यस्तै, क्यान्सरका प्रारम्भिक लक्षण पहिचान, निदान, उपचार तथा बिरामीलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवामा प्रेषण गर्ने प्रक्रियाबारे छलफल गरिएको थियो ।
कार्यक्रमको दोस्रो दिन जठरान्त्र तथा कलेजोको प्राथमिक क्यान्सरसम्बन्धी विषयमा विशेषज्ञहरूले प्रस्तुति दिएका थिए । सो अवसरमा समुदायमा आधारित क्यान्सर स्क्रिनिङ कार्यक्रम प्रभावकारी बनाउनुपर्ने तथा प्रारम्भिक पहिचान भएका बिरामीलाई गुणस्तरीय उपचार सेवासम्म पु¥याउन व्यवस्थित रेफरल प्रणाली विकास गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
कार्यशालामा चिकित्सक, नर्सिङ कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा समुदायमा क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गरी समयमै परीक्षण र उपचार गराउने वातावरण निर्माण गर्नुपर्ने विषयलाई प्राथमिकता दिइएको थियो ।
समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यशालाले क्यान्सर नियन्त्रणलाई अस्पताल र विशेषज्ञ चिकित्सकको मात्र जिम्मेवारी नभई समुदाय, स्वास्थ्यकर्मी, स्थानीय सरकार, नीतिनिर्माता तथा सामाजिक संस्थाहरूको साझा दायित्वका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।


































