सुनसरी । लागूऔषध दुव्र्यसनमा फसेका महिलाको उपचार, सुधार तथा पुनःस्थापना गर्ने उद्देश्यले धरानमा महिला सुधार केन्द्र भवन निर्माण हुने भएको छ ।
धरान उपमहानगरपालिका–६ पानवारीस्थित आसरा सुधार केन्द्र परिसरमा निर्माण हुने तीनतले भवनको शिलान्यास कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले गरे ।
भवन निर्माण सम्पन्न भएपछि एकैपटक ५० जना महिलालाई आवासीय उपचार सेवा प्रदान गर्न सकिनेछ । भवन निर्माणका लागि रु तीन करोड नौ लाख २६ हजार ३०० लागत अनुमान गरिएको छ । केन्द्रको आन्तरिक स्रोत तथा देशविदेशमा रहेका सहयोगी, आजीवन सदस्य र दाताको सहयोगबाट भवन निर्माण सुरु गरिएको आसरा सुधार केन्द्र पानवारी धरानकी प्रथम उपाध्यक्ष शिला बज्राचार्यले बताइन् ।
महिलाका लागि छुट्टै सुधार केन्द्र आवश्यक रहेकाले २८ धुर जग्गा खरिद गरेर भवन निर्माणको योजना अघि बढाइएको छ । भवनको प्रत्येक तलामा दुई हजार १८३ वर्गफिट क्षेत्रफल रहनेछ । सिँढीसहित कूल पाँच हजार १५० वर्गफिटमा निर्माण हुने भवनमा आवासीय कोठा, परामर्श कक्ष, बहुउद्देश्यीय हल, भोजन तथा भान्सा क्षेत्र, स्वास्थ्य तथा प्राथमिक उपचार कक्ष र सीप विकासका लागि आवश्यक संरचना रहनेछन् ।
आवास गृह निर्माण भएपछि महिलालाई सुरक्षित आवासीय सुविधा, उपचार, व्यक्तिगत तथा सामूहिक मनोसामाजिक परामर्श, योग तथा ध्यान, स्वास्थ्य परीक्षण र व्यावसायिक सीप विकास तालिम उपलब्ध गराइने आसरा सुधार केन्द्रले जनाएको छ ।
शिलान्यास कार्यक्रममा प्रहरी नायब महानिरीक्षक खनालले हाल केन्द्रमा पुरुष दुव्र्यसनीलाई मात्र उपचार गर्ने व्यवस्था रहेकामा महिला दुव्र्यसनीको सङ्ख्या बढ्दै गएकाले उनीहरूलाई उपचार गराउने उद्देश्यले छुट्टै आवास गृह निर्माण गर्न लागिएको बताए । लागूऔषध ओसारपसार तथा बिक्री वितरणविरुद्ध प्रहरीले कारबाही तीव्र बनाएको उल्लेख गरे । उनले दुव्र्यसनमा फसेका व्यक्तिलाई मुद्दा चलाउने र कारबाही गर्ने मात्र नभई उपचारमार्फत समाजमा पुनःस्थापित गराउनु प्रहरी, समाज र राष्ट्रको उद्देश्य भएको बताए । विसं २०७५ चैत १ गते आसरा सुधार केन्द्र रानीबारी, महाराजगञ्ज, काठमाडौँको शाखाका रूपमा स्थापना भएको केन्द्र २०८० पुस ३ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता भई सञ्चालन हुँदै आएको छ ।
केन्द्रका अनुसार स्थापनादेखि हालसम्म दुई हजार १८७ जना उपचारका लागि भर्ना भएकामा दुई हजार १०० जनाले उपचार पूरा गरी पुनःस्थापना भएका छन् । हाल ८७ जना उपचाररत छन् ।रासस

































