नेपाल र भारतबीचको सम्बन्ध भौगोलिक निकटता, ऐतिहासिक सम्बन्ध र आर्थिक अन्तरनिर्भरताले मात्र परिभाषित हुँदैन । यो सम्बन्धको वास्तविक सफलता दुवै देशले एकअर्काको राष्ट्रिय हित, सार्वभौमिकता र आर्थिक समृद्धिलाई कति सम्मान गर्छन् भन्ने कुराले निर्धारण गर्छ । त्यसैले प्रधानमन्त्री बालेन्द्र साहको हालै सम्पन्न भारत भ्रमणलाई औपचारिक भेटघाट, संयुक्त वक्तव्य र सम्झौताका सूचीबाट मात्र मूल्याङ््कन गर्नु पर्याप्त हुँदैन । भ्रमणले नेपाली अर्थतन्त्रका पुराना गाँठा फुकायो कि फुकाएन भन्ने प्रश्न महङ्खवपूर्ण हो । मङ्सिर ६ र ७ गते सम्पन्न भ्रमणमा केही महङ्खवपूर्ण उपलब्धि हासिल भएका छन् । भारतले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २४ हजार करोड भारतीय रूपैयाँ बराबरको सहयोग घोषणा गरेको छ । त्यसमध्ये पाँच हजार ६ सय करोड नेपाली रूपैयाँ अनुदान र १८ हजार ४ सय करोड रूपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि ऋण सहायता रहने उल्लेख छ । चितवनमा कृषि औद्योगिक पार्क स्थापना, नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को शाखा स्थापना, जनकपुर-अयोध्या रेल सेवा, रक्सौल-काठमाडौ“ विद्युतीय रेलमार्गको अन्तिम स्थान सर्वेक्षण र थप दुई भारतीय बन्दरगाह प्रयोग गर्न पाउने सहमति सकारात्मक उपलब्धि हुन् । तर यति धेरै सम्झौता र घोषणाका बीच नेपाली उद्योगी-व्यवसायीले वर्षौंदेखि उठाउँदै आएका आधारभूत समस्या भने सम्बोधन हुन सकेनन् । मोरङ उद्योग व्यापार सङ्घले विराटनगरमा पत्रकार सम्मेलन गरी उठाएका प्रश्नहरु यसैका उदाहरण हुन् । भारतीय बजारमा नेपाली उत्पादन निर्यात गर्दा भारतीय गुणस्तर प्रमाण पत्र (बीआईएस) को प्रमाणीकरणमा भोग्नुपर्ने झन्झट, नेपाली जुट उद्योगले तिर्नुपरेको अतिरिक्त शुल्क र नेपालमा उत्पादन हुने बढी विद्युत् भारतले खरिद गर्ने सुनिश्चितता अझै स्पष्ट छैन । नेपालले भारतलाई आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार मान्दै आएको छ ।

तर व्यापारिक सम्बन्धको अर्को पाटो अत्यन्त असन्तुलित छ । नेपालबाट भारततर्फ हुने निर्यातको तुलनामा भारतबाट हुने आयात धेरै ठूलो छ । नेपाली उद्योगले भारतीय बजारमा प्रवेश गर्न गुणस्तर प्रमाणीकरण, प्रशासनिक प्रक्रिया र अतिरिक्त शुल्कको समस्या भोगिरहेका छन् । नेपालमै गुणस्तर परीक्षण तथा प्रमाणीकरण गर्ने संस्थालाई भारतले मान्यता दिने व्यवस्था नहुँदासम्म नेपाली उद्योगले प्रतिस्पर्धात्मक लाभ लिन सक्दैनन् । बन्दरगाह थपिँदैमा बजार पहुँच सुनिश्चित भएको मान्न सकिँदैन । जुट उद्योगको समस्या अझ गम्भीर छ । नेपालको औद्योगिक इतिहाससँग जोडिएको यो उद्योगले हजारौ“ श्रमिकलाई रोजगारी दिएको छ । भारतले नेपाली जुट उत्पादनमा लगाएको एन्टी डम्पिङ तथा काउन्टरभेलिङ शुल्कले उद्योगको लागत बढाएको छ । एकातिर उत्पादन लागत उच्च छ, अर्कातिर भारतीय बजारमा प्रतिस्पर्धा गर्न कठिन छ । यसको असर उद्योगीको नाफामा मात्र सीमित छैन, श्रमिकको रोजगारी र किसानले उत्पादन गर्ने कच्चा जुटको बजारसम्म पुग्छ । सरकारले यस विषयलाई सामान्य व्यापारिक गुनासोका रुपमा होइन, रोजगारी र औद्योगिक अस्तित्वसँग जोडिएको मुद्दाका रुपमा उठाउनु पर्दछ । ऊर्जा क्षेत्रमा पनि नेपालले स्पष्ट उपलब्धि खोज्नुपर्दछ । जलविद्युत् उत्पादन बढ्दै गएको अवस्थामा आन्तरिक खपत र भारततर्फको निर्यात दुवैलाई व्यवस्थित गर्न आवश्यक छ । भ्रमणमा उठ्नुपर्ने तर पर्याप्त प्रगति नदेखिएका अन्य विषय पनि कम महङ्खवका छैनन् । सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने विषय नेपालको पुरानो माग हो । संयुक्त दृष्टिपत्रमा विद्यमान द्विपक्षीय सन्धि तथा सम्झौता आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने उल्लेख भए पनि त्यसको प्रक्रिया र समयसीमा स्पष्ट छैन । प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन लामो समयदेखि अलपत्र छ । सीमा विवाद, विशेषगरी लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय पनि दुई देशबीचको विश्वास र सम्बन्धसँग जोडिएको संवेदनशील मुद्दा हो । सीमा स्तम्भको मर्मतसम्भार र बाँकी सीमा समस्यामा परराष्ट्र सचिवलाई काम गर्न निर्देशन दिनु सकारात्मक भए पनि नेपालको भूभागसम्बन्धी विवादको समाधानका लागि स्पष्ट राजनीतिक प्रतिबद्धता आवश्यक छ । भारतीय सेनामा गोर्खा भर्तीको विषयसमेत द्विपक्षीय सम्बन्धको महङ्खवपूर्ण पाटो हो । अग्निपथ योजनापछि रोकिएको भर्ती प्रक्रियाबारे यस भ्रमणमा ठोस सहमति हुन नसकेको देखिन्छ । नेपाली युवाको रोजगारी, सुरक्षा र दुई देशबीचको पुरानो सैन्य सम्बन्धसँग जोडिएको यो विषयलाई पनि अनिश्चित अवस्थामा राख्नु उचित हुँदैन ।

प्रधानमन्त्री साहको भारत भ्रमणलाई पूर्णतः असफल भन्न मिल्दैन । ऊर्जा, पारवहन, पूर्वाधार, पुनर्निर्माण र जनस्तरको सम्बन्ध विस्तारमा महङ्खवपूर्ण ढोका खुलेका छन् । तर कूटनीतिक उपलब्धिको वास्तविक मूल्याङ्कन नेपाली जनताको जीवन, उद्योगको उत्पादन, रोजगारी र राष्ट्रिय अर्थतन्त्रमा परेको प्रभावबाट हुनुपर्दछ । नेपालले भारतसँग मित्रता चाहेको हो, निर्भरता होइन । सहकार्य चाहेको हो, असमानता होइन । भारतीय बजारमा नेपाली उत्पादनले सहज प्रवेश पाउनु पर्दछ । नेपालको जलविद्युत् उत्पादनले सुनिश्चित बजार पाउनु पर्दछ । नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान हुनुपर्दछ । दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान र लाभमा आधारित हुनुपर्दछ । भारतसँगको सम्बन्धमा नेपालले अब सम्झौताका पाना थप्नेभन्दा ती सम्झौताबाट नेपाली नागरिकले के पाए भन्ने हिसाब खोज्नु बाञ्छनीय हुनेछ । बन्दरगाहका ढोका खुल्नु उपलब्धि हो, तर नेपाली उत्पादनले बजार नपाउनु विडम्बना हो । जलविद्युत् आयोजना बन्नु उपलब्धि हो, तर उत्पादित बिजुली बिक्री नहुनु विडम्बना हो । त्यसैले प्रधानमन्त्रीको भारत भ्रमणको वास्तविक सफलता सम्झौतामा होइन, नेपाली उद्योगको चिम्नी बल्न थालेको, उत्पादनले बजार पाएको र राष्ट्रिय हित सुरक्षित भएको दिनमा मापन हुनेछ ।