विजयपुर । सुनसरीको धरानस्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थी गौरवकुमार साह एमबीबीएस प्रवेश परीक्षामा राष्ट्रियस्तरमा पाँचौँ भएका छन् ।

चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस प्रवेश परीक्षामा साहले नेपालभर पाँचौँ स्थान हासिल गर्नुका साथै कोशी प्रदेशमा प्रथम स्थान प्राप्त गरेको विद्यालयले जनाएको छ । विद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठका अनुसार कक्षा १२ को परीक्षामा उनले ३.९५ जीपीए प्राप्त गरेका थिए । 

साहले एमबीबीएस प्रवेश परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रिन्सिपल श्रेष्ठले बताए । त्यस्तै, विद्यालयकै रुजन बजगाईं र वत्सल कार्कीले पनि प्रवेश परीक्षामा उत्कृष्ट स्थान हासिल गरेका छन् । उनीहरू तीनै जनाले चिकित्सा शिक्षा अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्न सफल भएको विद्यालयका प्लसटु संयोजक नवीन शाक्यले जानकारी दिए ।

विद्यालयका संस्थापक अध्यक्ष बेनिन्द्र कटवालले विद्यार्थीहरूको सफलताले विद्यालयसँगै धरानको शैक्षिक क्षेत्रको प्रतिष्ठा बढाएको बताए । अध्यक्ष कटवालले विद्यालयले मिहिनेत, अनुशासन र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको बताए ।