कृषि उत्पादन बढाउने भाषण गर्न सजिलो छ, तर किसानको खेतबारीसम्म पुगेर उसको मिहिनेतको मूल्याङ्कन गर्नु र उत्पादनका आधारमा प्रोत्साहन दिनु असली प्रतिबद्धता हो । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सुरू गरेको उत्पादनमा आधारित पुरस्कार कार्यक्रमले स्थानीय सरकार कृषि र किसानप्रति कसरी जिम्मेवार बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । यो अभ्यास केवल पुरस्कार वितरणको कार्यक्रम मात्र होइन, कृषि उत्पादनलाई सम्मान गर्ने र किसानलाई उत्पादन बढाउन उत्प्रेरित गर्ने सकारात्मक प्रयासको रुपमा यसलाई लिन सकिन्छ । नेपालको कृषिक्षेत्र लामो समयदेखि अनेकौ“ समस्याबाट गुज्रिरहेको छ । खेतीयोग्य जमिन बाँझिँदै गएको छ, युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेको छ, कृषि उत्पादनको लागत बढिरहेको छ र किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । यस्तो अवस्थामा कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने नीति र कार्यक्रम आवश्यक छन् । तर, कृषि अनुदान र प्रोत्साहनका नाममा पहुँचवालाले लाभ लिने, कागजी विवरण मिलाएर रकम बुझ्ने र वास्तविक किसानले अवसर नपाउने समस्या पनि उत्तिकै छ । मिक्लाजुङको अभ्यासले यस्ता विकृतिलाई कम गर्ने एउटा व्यावहारिक बाटो देखाएको छ ।
गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक किसानको खलोमै पुगेर धान नाप्छन्, उत्पादनको विवरण सङ्कलन गर्छन् र त्यसैका आधारमा पुरस्कारका लागि किसान छनोट गर्छन् । यसले उत्पादनको वास्तविकता पहिचान गर्न मात्र सहयोग गर्दैन, किसानको मिहिनेतलाई स्थानीय सरकारले प्रत्यक्षरुपमा सम्मान गरेको अनुभूतिसमेत गराउँछ । अनुदानका लागि कार्यालय धाउनुपर्ने र कागजी प्रक्रियामा अल्झिनुपर्ने परम्पराभन्दा उत्पादन भएको अन्नको थुप्रोमै पुगेर मूल्याङ्कन गर्ने यो शैली बढी पारदर्शी र परिणाममुखी मान्न सकिन्छ । आर्थिक वर्ष २०७७/०७८ देखि सुरू भएको कार्यक्रम अहिले धानमा मात्र सीमित छैन । मकै, आलु र प्राङ्गारिक मल उत्पादनलाई समेत समेटिएको छ । गत आर्थिक वर्षमा ५ सय ८६ जना किसानलाई एक करोड ८५ लाख ६५ हजार रूपैयाँ पुरस्कार वितरण हुनुले कार्यक्रमको विस्तार र किसानको सहभागिता दुवै देखाउँछ । विशेषगरी प्राङ्गारिक मल उत्पादनलाई पनि प्रोत्साहनमा समेट्नु सकारात्मक पक्ष हो । रासायनिक मलको अभाव र बढ्दो लागतका बीच स्थानीय स्रोतसाधनबाट मल उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्नु दिगो कृषि प्रणालीतर्फको महङ्खवपूर्ण कदम हो ।
यद्यपि, उत्पादनका आधारमा पुरस्कार वितरण गर्दैमा कृषिक्षेत्रका सबै समस्या समाधान भने हुँदैनन् । किसानलाई पुरस्कारसँगै गुणस्तरीय बिउ, मल, सिँचाइ, कृषि प्रविधि, सहुलियतपूर्ण ऋण, भण्डारण र बजारको सुनिश्चितता पनि चाहिन्छ । उत्पादन बढेपछि उचित मूल्य नपाउने अवस्था रहिरह्यो भने पुरस्कारले मात्र किसानलाई लामो समयसम्म खेतीमा टिकाइराख्न सक्दैन । त्यसैले स्थानीय सरकारले उत्पादन प्रोत्साहनलाई कृषि पूर्वाधार र बजार व्यवस्थापनसँग जोड्नु पर्दछ । अर्कोतर्फ, कार्यक्रमको प्रभावकारिता कायम राख्न पुरस्कार वितरणको मापदण्ड वैज्ञानिक, पारदर्शी र आर्थिक रुपमा दिगो हुन आवश्यक छ । वार्षिक करिब दुई करोड रूपैयाँ पुरस्कारमै खर्च हुने अवस्था देखिएपछि कार्यविधि संशोधन गर्ने गाउँपालिकाको तयारीलाई यही सन्दर्भमा बुझ्नुपर्दछ । बजेटको भार घटाउने नाममा वास्तविक किसान निरूत्साहित हुने गरी मापदण्ड कसिलो बनाउनु भने हुँदैन । बरु उत्पादनको परिमाणसँगै उत्पादकत्व, खेती गरिएको क्षेत्रफल, लागत, गुणस्तर र दिगो कृषि अभ्यासलाई समेत मूल्याङ्कनको आधार बनाउन सकिन्छ । कृषि उत्पादन बढाउने जिम्मेवारी सङ्घ र प्रदेश सरकारको मात्र होइन, किसानसँग प्रत्यक्ष जोडिएको स्थानीय सरकारको पनि हो । आफ्नो भूगोल, माटो, हावापानी र उत्पादन क्षमताअनुसार कृषि कार्यक्रम बनाउने तथा किसानको मिहिनेतलाई सम्मान गर्ने जिम्मेवारी स्थानीय तहले लिनुपर्दछ । पाँचथरकै फाल्गुनन्द गाउँपालिकाले पनि धान उत्पादनका आधारमा पुरस्कार दिने कार्यक्रम सञ्चालन गर्नुले यस्तो अभ्यास विस्तार हुँदै गएको देखाउँछ । किसानलाई भाषण होइन, उत्पादनको उचित मूल्य, आवश्यक सुविधा र मिहिनेतको सम्मान चाहिएको छ । मिक्लाजुङले किसानको खलोमा पुगेर धान नाप्ने अभ्यासमार्फत् स्थानीय सरकार जनताको खेतबारीसम्म पुग्न सक्छ भन्ने सन्देश दिएको छ । अब यो अभियानलाई पुरस्कार वितरणमा मात्र सीमित नराखी कृषि उत्पादन, उत्पादकत्व र किसानको आय वृद्धि गर्ने दीर्घकालीन योजनासँग जोड्नु पर्दछ । किसानको खलो भरि“दा गाउँको अर्थतन्त्र बलियो हुन्छ र गाउँको अर्थतन्त्र बलियो हुँदा मात्रै समृद्धिको आधार तयार हुने कुरा राज्यले मनन् गर्नु पर्दछ । किसानको मिहिनेत नाप्ने यो अभ्यासलाई स्थानीय सरकारको स्थायी कृषि नीतिका रुपमा विकास गर्नु आजको आवश्यकता हो । त्यसैले यो नीति अन्य पालिकाले पनि अवलम्बन गर्नु उचित हुनेछ ।
































