विराटनगर । नेपाल-भारत सीमावर्ती क्षेत्र विराटनगरमा पछिल्लो समय अवैध तस्करीको शैली फेरिँदै गएको छ । विगतमा साइकल, मोटरसाइकल वा पोकापन्तुरा बोकेर पैदल मार्गबाट हुने तस्करीलाई सुरक्षाकर्मीले कडाइ गर्न थालेपछि तस्कर समूहले अहिले यात्रुवाहक र अत्यावश्यक सेवाका सवारीसाधन प्रयोग गरेको पाइएको छ । 

नियमित यात्रु बोक्ने भ्यानदेखि अस्पतालको नाम लेखिएका सवारीसाधनसम्मलाई तस्करीको ‘कभर’ का रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको हालैका दुई प्रतिनिधिमूलक घटनाले प्रष्ट पारेको छ ।

यी दुवै घटनामा एउटा अनौठो तर गम्भीर समानता देखिएको छ— सशस्त्र प्रहरीले तस्करीका सामान र सवारीसाधन त नियन्त्रणमा लियो, तर दुवै घटनाका चालक सुरक्षाकर्मीकै आँखा अगाडिबाट फरार भए । सीमा नाकामा चौबिसै घण्टा तैनाथ रहने सुरक्षा संयन्त्रको निगरानीकै बीचबाट चालकहरू सहजै उम्किनुले तस्करीको बदलिँदो रणनीति मात्र होइन, सीमा सुरक्षाको सतर्कता र कार्यशैलीमाथि समेत प्रश्न खडा गरेको छ ।

३ कात्तिक (सोमबार) साँझ करिब ७ बजे नेपाल-भारत सीमा क्षेत्रस्थित विराटनगरको १ नम्बर ढाटमा नियमित सुरक्षा निगरानी चलिरहेको थियो । सोही क्रममा सशस्त्र प्रहरी बल रानी गुल्मबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको कालो नम्बर प्लेटको ‘को. १ झ २८९७’ नम्बरको मारुती भ्यानलाई नियन्त्रणमा लियो । जाँचका क्रममा यात्रु बोक्ने भनिएको उक्त भ्यानभित्र ठूलो परिमाणमा अवैध पटाका लोड गरिएको फेला पर्‍यो ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार बरामद गरिएको मारुती भ्यान र पटाकाको कुल अनुमानित मूल्य करिब ११ लाख रुपैयाँ रहेको छ । सशस्त्र प्रहरीले बरामद पटाका खाल्डो खनेर नष्ट गरेको छ भने भ्यानलाई आवश्यक कारबाहीका लागि ४ कात्तिक (मङ्गलबार) विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । 

तर, यो घटनाको सबैभन्दा नाटकीय र शङ्कास्पद पक्ष भनेको भ्यान नियन्त्रणमा लिइसकेपछि चालक फरार हुनु हो । सशस्त्र प्रहरीका अनुसार १ नम्बर ढाटबाट भ्यानलाई नियन्त्रणमा लिएर गुल्मतर्फ ल्याउने क्रममा गाडीको स्टार्ट अचानक बन्द भयो । सोही मौकाको फाइदा उठाउँदै चालकले गाडीमुनिको तार जाँच गर्ने बहाना बनाए र सुरक्षाकर्मीलाई झुक्याएर त्यहाँबाट भाग्न सफल भए ।

“ड्युटीमा खटिएका रानी गुल्मका सशस्त्र प्रहरीले अवैध सामानसहितको भ्यान नियन्त्रणमा लिएका थिए । तर, लगत्तै गाडीको स्टार्ट बन्द भयो” घटनाबारे स्पष्ट पार्दै एसपी भण्डारीले भने, “स्टार्ट बन्द भएपछि गाडी रोकेर मुनिको तार जाँच गर्ने क्रममा मौका छोपेर चालक त्यहाँबाट फुत्किएछन् । फरार चालकको खोजी भइरहेको छ ।” पछि सशस्त्र प्रहरीकी महिला कमान्डरको नेतृत्वमा रहेको टोलीले उक्त भ्यान र पटाकालाई गुल्मसम्म ल्याएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त भ्यान लामो समयदेखि यात्रु ओसारपसारको आवरणमा तस्करी धन्दामा प्रयोग हुँदै आएको देखाएको छ । भ्यानले नेपालबाट यात्रु बोकेर भारततर्फ जाने र उताबाट फर्कने क्रममा विशेषगरी साँझको समय पारेर पटाका तथा अन्य अवैध सामान भिœयाउने गरेको पाइएको छ । प्रहरीले यस कारोबारमा ‘अक्बर महमद, चाँदनी खातुन, मो. समिम भनिने बितना र मो. सहबाज’ समूहको संलग्नता रहेको आशङ्का गरेको छ । सीमाक्षेत्रका स्रोतका अनुसार उक्त भ्यान चाँदनी खातुनका श्रीमान् मो. समिमले चलाउने गरेका थिए र सोमबार राति सशस्त्र प्रहरीकै अगाडिबाट फरार हुने चालक पनि समिम नै रहेको दाबी गरिएको छ । यद्यपि, उनीहरूको भूमिका र संलग्नताबारे प्रहरीले औपचारिक पुष्टि गर्न बाँकी नै राखेको छ ।

यात्रुवाहक सवारीको आवरणमा पटाका तस्करी भएको यो घटना पहिलो भने होइन । यसअघि १७ भदौमा विराटनगरमै यस्तै प्रकृतिको अर्को घटना सार्वजनिक भएको थियो, जहाँ स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रको नाम भजाएर लागुऔषध गाँजा तस्करी गर्ने प्रयास गरिएको थियो ।

१७ भदौको राति करिब ११ बजेतिर विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले ‘दिव्यज्योति अस्पताल प्रा.लि.’ (दिव्य ज्योति आँखा अस्पतालको नाम) लेखिएको ‘को. १ च ६६२०’ नम्बरको सुजुकी मारुती भ्यानलाई शङ्का लागेर रोक्न खोजेको थियो ।

तर, बीओपी दरैयाका सुरक्षाकर्मीले चेकजाँचका लागि भ्यान रोक्न खोज्नासाथ चालक गाडी त्यहीँ छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भए । पछि सशस्त्र प्रहरीले भ्यानको खानतलासी गर्दा भ्यानभित्र दुईवटा बोरामा प्याक गरी राखिएको करिब ६० किलो गाँजा फेला परेको थियो । एसपी भण्डारीका अनुसार बरामद गाँजा र अस्पतालको नाम लेखिएको भ्यानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको थियो । अस्पतालको नाम लेखेको गाडीबाट गाँजा बरामद भएपछि अस्पतालले पत्रकार सम्मेलन गरेर यस घटनामा अस्पतालको कुनै संलग्नता नरहेको प्रष्ट पारेको थियो ।

यी दुई घटनालाई नजिकबाट नियाल्दा सीमा क्षेत्रका तस्करहरूले कसरी सुरक्षाकर्मीको मनोविज्ञानसँग खेलिरहेका छन् भन्ने स्पष्ट हुन्छ ।

पहिलो घटनामा ‘नियमित यात्रु बोक्ने भ्यान’ लाई माध्यम बनाइयो । सीमा क्षेत्रमा दिनहुँ यात्रु लिएर ओहोरदोहोर गर्ने गाडीप्रति सुरक्षाकर्मीमा एक प्रकारको ‘अभ्यास र विश्वास’ विकास भइसकेको हुन्छ । यही नियमित आवागमनको आवरणमा साँझको भीडभाड र अँध्यारो सुरु हुने समय छोपेर पटाकाजस्ता अवैध सामान भिœयाउन सहज हुने भएकाले तस्करले यही शैली अपनाएको देखिन्छ ।

दोस्रो घटनामा त झन् ‘अस्पताल’ को नाम लेखिएको भ्यान प्रयोग गरियो । स्वास्थ्य सेवा वा अस्पतालसँग सम्बन्धित सवारीसाधनलाई मानवीय संवेदनशीलताका कारण सुरक्षा जाँचमा केही खुकुलो व्यवहार गरिने वा हत्तपत्त शङ्का नगरिने मनोविज्ञानको फाइदा तस्करहरूले उठाउन खोजेका थिए ।

तर, दुवै घटनामा तस्करहरूले आवरणको प्रयोग त गरे नै, त्यसभन्दा चिन्ताजनक विषय सुरक्षाकर्मीको नियन्त्रण क्षमतामा देखिएको कमजोरी हो । विशेषगरी १ नम्बर ढाटजस्तो संवेदनशील र स्थायी सुरक्षा निगरानी रहने सीमा विन्दुबाटै अवैध सामानसहित पक्राउ परिसकेको गाडीको चालक उम्किनुलाई सामान्य त्रुटि मान्न सकिँदैन ।

जब सवारीसाधन अवैध सामानसहित नियन्त्रणमा लिइसकिएको थियो, तब चालकलाई किन सुरक्षित घेरामा राखिएन ? गाडीको स्टार्ट बन्द हुँदा चालकलाई गाडीमुनि पसेर तार चलाउने छुट किन दिइयो ? ड्युटीमा कति जना सुरक्षाकर्मी खटिएका थिए र एक जना चालक भाग्दासमेत तत्काल पिछा गरेर नियन्त्रणमा लिन किन सकिएन ? सुरक्षा संयन्त्रले यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिन सकेको छैन ।