विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेण्टल कलेजमा आवश्यक उपकरण प्रयोगमा नआउँदा बिरामीले सास्ती खेप्नुपरेको छ ।

करोडौँ रुपैयाँ खर्च गरेर ल्याइएका डेण्टल चियर तथा अन्य उपकरण जडान तथा सञ्चालन नहुँदा उपचार सेवा प्रभावित भएको छ भने बिरामीले सामान्य उपचारका लागि समेत पटकपटक प्रतिष्ठान धाउनुपर्ने बाध्यता छ । धनकुटाका दिवस दाहाल दाँतको आरसिटी गर्न प्रतिष्ठान धाइरहेका छन् । मङ्गलबार पनि उनी फलोअपका लागि प्रतिष्ठान आइपुगेका थिए । तर, आवश्यक मेसिन सञ्चालनमा नआएकाले उनको उपचारले पूर्णता पाउन सकेन ।

“दाँतको आरसिटी गर्न आएको थिएँ । आरसिटी मेनुअल्ली गर्नुभयो । मेसिन बिग्रिएका कारणले हुन सकेन” उनी भन्छन्, “दाँतबाट पिन निकाल्नुपर्ने भए पनि आवश्यक मेसिन नहुँदा काम भएन । हेर्ने पठाउने काम मात्र भयो ।” धरान-१५ का राम विश्वकर्मा प्रतिष्ठानको डेण्टल विभागमा सहजरूपमा सेवा पाउन नसकेको बताउँछन् ।

दाँत परीक्षणसँगै सफा (स्क्यालिङ) गर्न प्रतिष्ठान पुगेका उनलाई मेसिन सञ्चालनमा नरहेकाले दर्ता गरेर दुई हप्तापछि आउन भनिएको उनले बताए । उनी भन्छन्, “मेसिन नभएकाले दर्ता मात्र हुँदोरहेछ । दुई हप्ताको समय दिनुभएको छ ।” दाहाल र विश्वकर्मा मात्र होइन, डेण्टल विभागमा उपचारका लागि पुग्ने अधिकांश सेवाग्राहीले उपकरण सञ्चालनमा नआउँदा सास्ती भोग्दै आएका छन् ।

पुराना हाइड्रोलिक डेण्टल चियर हटाएर नयाँ प्रविधिका इलेक्ट्रिक डेण्टल चियर जडान गर्ने तथा डेण्टल सक्सन र डेण्टल कम्प्रेस एयर उपकरण सञ्चालनमा ल्याउन नसक्दा उपचार सेवा प्रभावित भएको प्रतिष्ठानका एक कर्मचारीले बताए । प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीका अनुसार डेण्टल विभागमा करिब ९० प्रतिशत मेसिन र उपकरण सञ्चालनमा छैनन् ।

लामो समयदेखि उपकरण सञ्चालनमा नआउँदा उपचारमा समस्या भइरहेको उनीहरूको भनाइ छ । चिकित्सकहरूका अनुसार उपकरण जडान र सञ्चालनमा आपूर्तिकर्ता कम्पनीको ढिलाइ मुख्य समस्या बनेको छ । एक महिनाभित्र सकिनुपर्ने पाइपलाइन बिछ्याउने कामसमेत ६ महिनाभन्दा बढी समय बित्दा पनि पूरा भएको छैन । आपूर्तिकर्ता कम्पनीले उपकरण जडान तथा सञ्चालनमा सहजीकरण नगर्दा उपचार सेवा प्रभावित भएको हो ।

डेण्टल चियर तथा उपकरण पुराना भएपछि तत्कालीन उपकुलपति डा. ज्ञानेन्द्र गिरीको पालामा नयाँ उपकरण जडान गर्ने प्रक्रिया सुरु भएको थियो । सोही प्रक्रियाअन्तर्गत नेपाल सरकारको आर्थिक सहयोगमा ल्याइएका ४० र प्रतिष्ठान आफैले ल्याएका ४५ गरी ८५ थान डेण्टल चियर, तीनवटा सेन्ट्रल सक्सन युनिट र क्याड क्याम ल्यावलगायत उपकरण प्रतिष्ठानमा ल्याइएका थिए । आपूर्तिकर्ता कम्पनी ‘गर्ग डेण्टल प्रा.लि.’ ले १२ करोड रुपैयाँमा ठेक्का पाएको थियो । कम्पनीले ४० थान डेण्टल चियर, तीन थान सेन्ट्रल सक्सन र क्याड क्याम बीपी प्रतिष्ठानमा ल्याएको हो ।

अन्य डेण्टल चियर तथा उपकरण भने प्रतिष्ठान आफैले ल्याएको हो । प्रतिष्ठानका अनुसार चेतन अग्रवालको गर्ग डेण्टल कम्पनीले उपकरण ल्याएर राखेको भए पनि ती सञ्चालनमा आउन सकेका छैनन् । डेण्टल विभागका  इन्चार्ज डा. नवीन अग्रवाल आपूर्तिकर्ताले सबै सामान ल्याएर जडान नगर्दा समस्या भएको बताउँछन् । केही उपकरण अर्डर गरेर ल्याउनुपर्ने र उपकरणसँग सम्बन्धित विशेषज्ञ उपलब्ध नहुँदा जडानमा समय लागेको उनको भनाइ छ ।

“अर्डर गरेर ल्याउनुपर्ने भन्छ । उपकरणसँग सम्बन्धित विशेषज्ञ नभएकाले समय लागेको हो । हामीले फलोअप गरिरहेका छौँ” उनी भन्छन्, “दसैँतिहारले थप समस्या भएको हो ।” आपूर्तिकर्ताले सामान भन्सारमा आइपुगेको जानकारी दिएको बताउँदै डा. अग्रवाल भन्छन्, “१५ दिनमा सक्छु भन्ने छ ।” प्रतिष्ठानका प्रवक्ता डा. शमशेर श्रेष्ठ पुराना उपकरण हटाएर नयाँ जडान गर्ने क्रममा समस्या भएको बताए । उनी भन्छन्, “पुराना मेसिन हटाएर नयाँ जोड्दा समस्या भएको हो । अलि लामै समय लाग्ने भएकाले सूचना पनि निकालेको होला ।”

करोडौँ रुपैयाँ खर्च गरेर प्रतिष्ठानमा ल्याइएका उपकरण प्रयोगमा आउन नसक्दा बिरामीले उपचारका लागि लामो समय कुर्नुपर्ने र पटकपटक धाउनुपर्ने अवस्था छ । उपचार सेवासँगै विद्यार्थीको पठनपाठनसमेत प्रभावित भइरहँदा उपकरण कहिले पूर्णरूपमा सञ्चालनमा आउँछन् भन्ने यकिन छैन ।