विजयपुर । कोशी प्रदेशस्तरीय अन्तरविद्यालय आठौँ डिआइजी रनिङ कप फुटबल प्रतियोगिता आगामी पुस ३ गतेदेखि सञ्चालन हुने भएको छ ।

नेपाल प्रहरी स्कुल धरानको आयोजनामा पुस ३ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नेपाल प्रहरी प्रदेश कार्यालय धरानको खेलमैदानमा आयोजना गरिनेछ । विद्यालयस्तरदेखि नै फुटबल खेलको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।

प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालयको सहभागिता हुनेछ । सहभागी छनोटमा पहाडी क्षेत्रका सामुदायिक तथा सरकारी विद्यालयलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ । नेपाल प्रहरी स्कुल धरानकी प्रहरी निरीक्षक अनिता महतले विद्यालय तहदेखि नै खेलकुदको विकास गर्दै भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइन् । प्रतियोगिताले बालबालिकामा लुकेर रहेका खेल प्रतिभाको पहिचान गरी उनीहरूलाई राष्ट्रियस्तरमा अघि बढ्ने अवसर प्रदान गर्ने उनको भनाइ छ ।

प्रतियोगितामा सहभागी हुन विद्यालयले मङ्सिर २८ गतेसम्म दर्ता गराउन सक्नुपर्नेछ । प्रतियोगिताका खेल संयोजक सागर कार्कीका अनुसार विजेताले एक लाख पाँच हजार एक रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले पचास हजार पाँच रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता (हाइस्कोरर), उदयीमान खेलाडी (राइजिङ प्लेयर) तथा उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ