दाेलखा /दिनभरी मेलामा काम गरेर थाकेकाले मासु खान मन लागेको दोलखास्थित बैत्यश्वर गाउँपालिका–६ नाम्दूकी उर्मिला तामाङले १३ वर्षका कान्छो छोरालाई मासु किन्न पठाइन् । मासु खान पाइने भो भनेर छोराले खुसी हुँदै बजार गएर मासु किनेर ल्यायो । उर्मिला छोरोले मासु ल्याउनजेल प्याज काट्दै कराइमा तेल तताउँदै थिइन् । उनको श्रीमानले एक्कासी तातो तेल अनुहारमा खनाइदिए । हाल काठमाडौंस्थित टिचिङ अस्पतालको बर्न वार्डको ३७ नम्बर शैय्यामा पीडामा उर्मिला छट्पटाइरहेकी छिन् । ‘तेल अनुहारभरी परेपछि आँखा नै नदेख्नेगरी जलन भएर भाग्दा पनि श्रीमान कुमार तामाङले तलाईं आगो लगाउँछु भन्दै लखेटेपछि हारगुहार गरेँ,’ ३४ वर्षीया उर्मिलाले फाेनमा रुँदै भनिन्, ‘ममाथि अन्याय भयो, न्याय पाउँ ।’ मंगालबार घटना हुनेबित्तिकै प्रहरी पुग्दा आरोपी ३९ वर्षीय कुमार फरार भइसकेको दोलखा प्रहरीका सूचना अधिकारी प्रेमसागर केसीले बताए । उनकाअनुसार मंगलबार भएको घटनापछि आरोपीको खोजीमा प्रहरी परिचालन गरिएको छ । उजुरी परेपछि घटनालाई संवेदनशील सूचीमा राखेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए, कान्तिपुरमा खबर छ ।