काठमाडौं/ब्रिटिश बक्सिङ च्याम्पियन अमिर खानको गाडीले अर्को कारलाई ठक्कर दिएपछि भएको एक विवादले उग्र रुप लिदाँ उनलाई एक अज्ञात समूहले लखेटेर आक्रमण गरेका छन् ।

प्राय विवादमा आइरहने पाकिस्तानी मुलका बेलायती बक्सिङ खेलाडी अमिर खान फेरि पनि विवादमा आएका हुन् । बेलायती सञ्चारमाध्यम डेली मेलका अनुसार यी बक्सरले बिच सडकमा केही मानिसहरुको मुक्का खाएका हुन् । तीस वर्षका खानलाई उनको गृहनगर ग्रेटर म्यानचेस्टरको बोल्टनमै उनले चलाइरहेको रेन्जरोभर कारले गलत टर्न लिएर अर्को कारलाई ठक्कर दिएपछि मानिसहरुको एक समूहले आक्रमण गरेको हो । प्रत्यक्षदर्शीका अनुसार ठक्कर पछि दुवै पक्ष झगडामा उत्रिए र त्यसपछि बक्सरले गलत टर्न लिएको भन्दै ति मानिसहरु हिंसामा उत्रेका थिए ।

प्रत्यक्षदर्शीहरुले खान भएको तिर एकजनाले मुक्का प्रहार गरेको देखेको बताएका छन् । उक्त घटनामा प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन् । बेलायती अखबार द सन का अनुसार उक्त घटना शुक्रबार राती सवा ९ बजेतिर भएको थियो । ग्रेटर म्यानचेस्टरका प्रहरी प्रवक्ताले भने, ‘हामीहरु लाई सडकमा झैझगडा भएको खबर आएको थियो । यस्तो देखिन्छ कि ति मानिसले गलत टर्न लिएका थिए जसको कारणले दुर्घटना भयो र त्यसैपछि विवाद उत्पन्न भयो ।’ ‘पहिलो कारका ड्राइभरलाई पछाडीका कारका मानिसले मुक्का प्रहार गरेका छन् । यससम्बन्धी थप सूचना भए हामीलाई खबर गर्नुहोस्’ उनले भने ।

प्रवक्ताले अझै थपे ‘प्रत्यक्षदर्शीका अनुसार केही सामानहरु पनि फ्याँकिएका थिए तर के हो त्यो भन्ने पुष्टि भएको छैन् ।’